काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २ सय ८५ अस्थायी कार्यालयहरू अब स्थायी हुने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण पास गर्ने निर्णय गरेसँगै सशस्त्र प्रहरीका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थायी हुने भएका हुन् ।
यसअघि सशस्त्र प्रहरी बल नेपालको १ सय ११ वटा कार्यालय मात्र स्थायी रहेको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै स्थायी कार्यालयको संख्या ३ सय ९६ वटा पुगेको छ ।
बैठकले काठमाडौंको कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १८ नीलबाराही गणको स्तरवृद्धिसमेत गरेको छ । सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा रहँदै आएको सो गणलाई सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको छ । अब सो गणको नेतृत्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले गर्ने भएको छ ।
यसैगरी, काठमाडौँ कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय परिसरमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्मलाई गणमा स्तरोन्नति गरिएको छ । त्यहाँ अब एसपीले कमान्ड गर्नेछन् ।
सो गुल्मलाई गण बनाएसँगै यसको जनशक्ति पनि व्यवस्थापन हुने र थप सुरक्षा मजबुत हुने विश्वास गरिएको छ । यो गुल्मले महत्वपूर्ण प्रतिष्ठान तथा कूटनीतिक नियोगको सुरक्षा प्रदान गर्दै आएको छ ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपालको सांस्कृतिक तथा बाध्यवाजन गुल्मलाई स्तरवृद्धि गरिएको छ । सो गुल्मलाई सांगीतिक शिक्षालय बनाइएको छ । अब सो शिक्षालयको कमान्ड सशस्त्र प्रहरी उपरीक्षकले गर्ने भएका छन् ।
यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल समेत अब स्थायी संरचनामा सञ्चालन हुने भएका छन् ।
यस्तै यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक डाक्टरको कमान्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकले कमान्ड गर्नेछन् ।
यस्तै, इन्टेलिजेन्स ब्युरो, कानुन महाशाखा र विपद् व्यवस्थापन महाशाखामा डीआईजीको दरबन्दी थप गरिएको छ । यसअघि यी तीनवटै ठाउँमा एसएसपी प्रमुख रहने व्यवस्था थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया