काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको एमाले कोशी प्रदेश कमिटीले एमाले नेता तथा इटहरी उपमहानगरपालिका पूर्वप्रमुख द्वारिकलाल चौधरीलाई कारबाही गरेको छ ।
कोशी प्रदेश समितिको नवौँ बैठकले प्रदेश कमिटी सदस्य चौधरीलाई ६ महिनाका लागि निलम्बन गरेको हो । उनी २०७४ सालमा एमालेबाट इटहरीको मेयरमा निर्वाचित भएका थिए । चौधरी २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि माओवादी केन्द्र प्रवेश गरेका थिए ।
माओवादी केन्द्रबाट सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट उम्मेदवार बनेका उनी चुनाव हारेपछि एमालेमा नै फर्किएका थिए । एमालेमा फर्किएपछि भने उनले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरिरहेका थिए । सचेत गराउँदा पनि अटेर गरेपछि उनलाई निलम्बन गरेको प्रदेश अध्यक्ष घनश्याम खतिवडाको भनाइ छ । उनलाई कारबाहीका लागि जिल्ला कमिटीले सिफारिस गरेको थियो ।
यस्तै, प्रदेश कमिटीले सामाजिक सञ्जालमा ओलीविरुद्ध लेखेका प्राडा बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोधेको छ ।
सामाजिक सञ्जालमा अध्यक्ष ओलीको चर्को आलोचना गर्दै आएका प्राडा बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय प्रदेश कमिटी बैठकले गरेको हो ।
पोखरेल कुनै समय केपी शर्मा ओलीका प्रिय थिए । पछिल्लो समय भने उनले ओलीको आलोचना गर्थे । ‘सामाजिक सञ्जालमा पार्टी हित विपरीत लेखेका कारण स्पष्टीकरण सोधिएको हो,’ अध्यक्ष खतिवडाले भने, ‘नगर कमिटीबाट सिफारिस भएपछि प्रदेशले निर्णय गरेको हो ।’
बैठकले धर्मछोरीका रूपमा पालेकी छोरीलाई जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका एमाले प्रदेश कमिटी सल्लाहकार तथा बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुव सिवाकोटीलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै, पार्टी हितविपरीत कार्य गरेको भन्दै प्रदेश समिति सल्लाहकार झापाका मनोरथ तिवारी निलम्बनमा परेका छन् ।
बैठकले काशीनाथ दंगाललाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया