काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले विधानअनुसार अगामी पुस २८ गतेभित्र भित्र विशेष महाधिवेशन गर्नेगरी मिति र स्थान तोक्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै लेखनाथ पोखरेलले ५५ दिनभित्र विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको बताए । उनले महाधिवेशनको मागलाई उपेक्षा गरेर केन्द्रीय समिति बैठकलाई अनिर्णयको बन्दी बनाइएको भन्दै नियमित महाधिवेशनको कार्यतालिका स्वीकार नगरिने समेत बताए । उनले विशेष महाधिवेशनका बाँकी प्रतिनिधिहरुलाई समेत हस्ताक्षर अभियानमा सहभागि हुन आह्वान गरे ।
‘महाधिवेशनका ४० प्रतिशत केन्द्रीय सदस्यहरुले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष महाधिवेशन बोलाउनुपर्नेछ,’ उनले भने, ‘विधानमा स्पष्ट व्यवस्था गरिएको छ । यही व्यवस्थाबमोजिम पुस २८ भित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्दछ । विधानको यो व्यवस्था केन्द्रीय कार्यसमितिका लागि रुचि, बहुमत वा अल्पमतको विषय होइन । यो बाध्यकारी, मेन्डोटरी व्यवस्था हो । अतः अब यसबाहेक अन्य कुनैपनि विकल्प छैन । केन्द्रीय कार्यसमिति बैठकको निर्णयका लागि समेत सबै ढोकाहरु बन्द भइसकेका छन् भन्ने हाम्रो ठहर हो । विशेष महाधिवेशन माग गरी पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गरिएको हस्ताक्षरको सूचीमा विविध कारणले छुट्नुभएका तर पार्टीको महाधिवेशन समयमै होस् भन्ने भावना भएका सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथिहरुलाई हस्ताक्षर गरी यस अभियानमा एक्यबद्धता जनाउन समेत अनुरोध गर्दछौं । विषेश महाधिवेशन महाधिवेशन प्रतिनिधिहरुको विषेश वैधानकि अधिकार हो । यो कुनैपनि दबाब वा कसैको प्रभावबाट रोकिदैन । तोकिएको अवधीविभित्र अर्थात अबको ५५ दिनभित्रमा महाधिवेशन सुनिश्चित नगरेर हामीलाई नअल्झाइयोस् । अविलम्व विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गरियोस् ।’
उनले पार्टी विधानको धारा १७ (२) बमोजिम तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया