काठमाडौं । पूर्वसांसद डा. सुनिल शर्माले नेपालमा मेडिकल क्षेत्रमा भएको तीव्र प्रगतिले देशलाई नयाँ उचाइमा पुर्याएको बताउँदै अन्य क्षेत्रले पनि त्यस्तै फड्को मार्नु आवश्यक रहेको बताएका छन् । नोबेल मेडिकल कलेजद्वारा आयोजित ‘नोबेल डे’ कार्यक्रममा बोल्दै उनले मेडिकल क्षेत्रमा देखिएको छलाङ राष्ट्रको समग्र विकासको उदाहरण भएको बताए ।
शर्माले राज्यका नीतिगत सुधार र सबै पक्षको निरन्तर परिश्रमका कारण मेडिकल शिक्षा र उपचार सेवामा क्रान्तिकारी परिवर्तन आएको उल्लेख गरे । ‘मेडिकलमा जति छालाङ मारियो, अरू क्षेत्रमा पनि त्यति नै प्रगति भएको भए आज नेपाल दुबई वा सिंगापुरजस्तै मुलुक बन्थ्यो,‘उनले भने ।
उनका अनुसार मेडिकल क्षेत्रमा भएको तीव्र विकास ‘फास्ट ट्रायल’ जस्तै गतिमा भएको हो र आगामी २० वर्षमा यो क्षेत्र झनै २० गुणा अगाडी बढ्ने आशा व्यक्त गरे ।
कार्यक्रममा प्राध्यापक डा। अच्युत वाग्लेले अत्याधुनिक प्रविधि आत्मसात गर्नु अहिलेको प्रमुख चुनौती भएको भन्दै एआई र रोबोटिक्सजस्ता प्रविधिको प्रयोगलाई अपनाउनुपर्ने आवश्यकता औँल्याए । ‘मेडिकल क्षेत्रमा रोबोटमार्फत धेरै काम हुन थालेका छन्, नेपालले पनि यसलाई अवसरका रूपमा लिनुपर्छ,उनले भने ।
नोबेल मेडिकल कलेजकी निर्देशक सोइना शर्माले संस्थाले अत्याधुनिक सेवा प्रदान गर्नुका साथै सरकारी नीतिहरूलाई कडाइका साथ कार्यान्वयन गर्दै आएको बताइन् । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुका साथै विपन्न तथा अशक्त नागरिकलाई वार्षिक करोडौँ बराबरको निःशुल्क तथा सहुलियत उपचार उपलब्ध गराइरहेको छ ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले नोबेल मेडिकल कलेजले प्रदेशको स्वास्थ्य सेवा सुधार मात्र होइन, रोजगारी सिर्जनामा पनि ठुलो योगदान पुर्याएको उल्लेख गरे । उनका अनुसार आधुनिक प्रविधि भित्रिएसँगै अब ९५ प्रतिशत बिरामीलाई उपचारका लागि विदेश जानुपर्ने अवस्था हटेको छ, जसले स्वास्थ्य क्षेत्रको समग्र सुधार देखाउँछ ।
कार्यक्रममा सहभागी चिकित्सक, प्राध्यापक र सरोकारवालाले मेडिकल क्षेत्रको निरन्तर विकास र आधुनिक प्रविधि प्रयोगलाई अझ व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया