काठमाडौं । देशभर चिसो बढ्दै गएसँगै विभिन्न स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । तापक्रम लगातार घटिरहेकाले विशेषगरी बालबालिका र वृद्ध वृद्धा जाडोको प्रभावबाट बढी प्रभावित हुने चिकित्सकहरू बताउँछन् । जाडो मौसममा रुघाखोकी, फ्लू, दमको समस्या, टन्सिल तथा अन्य भाइरसजन्य संक्रमण बढ्ने गर्दछ ।
चिसोबाट जोगिन सके धेरै रोगको जोखिम कम गर्न सकिने हुँदा स्वास्थ्यकर्मीहरूले तातो कपडा प्रयोग गर्न, पोषिलो खाना खान, घर तथा कार्यस्थल न्यानो राख्न, पर्याप्त पानी पिउन र भीडभाड क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, दीर्घ रोग भएका व्यक्तिहरू जस्तै बाथरोग, दम र मुटुरोगीले जाडोमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । तापक्रम घट्दा स्वासप्रश्वासका नली खुम्चिने भएकाले समस्या झनै गम्भीर बन्न सक्छ । स्वास्थ्यकर्मीहरूले जाडोमा तातो लुगा लगाउने, पर्याप्त पोषण लिनु र सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

जाडो महिनासँगै नेपालमा इन्फ्लुएन्जा वा ‘फ्लू’ को संक्रमण बढ्दै गएको छ । यो भाइरसले प्रायः नाक, घाँटी र फोक्सोमा संक्रमण गर्छ ।
डा. पुनका अनुसार, फ्लू मुख्यतया हावाबाट फैलिन्छ । संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा वा बोल्दा पनि यो भाइरस अरूलाई सर्न सक्छ । त्यस्तै, संक्रमित व्यक्तिले छोएमा पनि संक्रमण फैलिने खतरा रहन्छ ।
फ्लूका सामान्य लक्षणमा अचानक ज्वरो, रुघाखोकी, घाँटी दुखाइ, टाउको दुखाइ, शरीर दुख्ने र थकान अनुभव हुने गर्छ । केही अवस्थामा बच्चा वा वृद्धमा पखाला र उल्टी पनि हुन सक्छ ।
डा. पुनले विशेष गरी बालबालिका, वृद्ध, गर्भवती महिला र दीर्घ रोगीहरूलाई सतर्क रहन सुझाएका छन् । फ्लू भाइरस चार प्रकारका हुन्छन् : ए, बी, सी र डी ।
मुख्य रूपमा ‘ए’ र ‘बी’ प्रजातिले मानवीय स्वास्थ्यमा समस्या ल्याउँछन् । विशेषगरी फ्लू ‘ए’ भाइरसले समय–समयमा महामारी (प्यानडेमिक)को रूप लिने गरेको समेत इतिहास छ ।
कोभिड-१९ भन्दा अघि सन् २००९ मा ‘स्वाइन फ्लू’ नामले परिचित फ्लू ‘ए’ प्रजातिको ‘एच१एन१ पीडीएम ०९’ उपप्रजातिलाई महामारी घोषणा गरिएको थियो । त्यसपछि ‘हङकङ फ्लू’को नामले परिचित फ्लू ‘ए’ प्रजातिको ‘एच३एन२’ उपप्रजाति सन् १९६८ मा हङकङमा देखिएको थियो र विश्वव्यापी फैलिएको थियो ।
डा. शेरबहादुर पुनका अनुसार हाल नेपालमा यी दुवै प्रजाति मौसमी फ्लूको रूपमा बर्सेनि देखिँदै आएको छ । केही हप्ता अगाडि भारतमा ‘हङकङ फ्लू’ (एच३एन२) तीव्र गतिमा फैलिएको थियो र, धेरै मानिस बिरामी परेका थिए । विगतमा भारतमा फैलिएको कोभिड–१९ को लहर केही हप्ताभित्रै नेपालमा देखा परेको अनुभवलाई ध्यानमा राख्दा, यो फ्लूको प्रभाव पनि नेपालमा छिट्टै देखिन सक्ने सम्भावना रहेको पुनको भनाई छ ।
पुन भन्छन्, ‘हाल फैलिरहेको ‘हङकङ फ्लू’को जीनमा कम्तीमा सात नयाँ म्युटेसन भएको जानकारी आएको छ, जसले यस भाइरसलाई थप तीव्र गतिमा फैलन सक्ने अनुमान गरिएको छ ।’
यस वर्ष इन्फ्लूएन्जा (फ्लू) अझ सक्रिय भएको छ । चिकित्सकहरूका भनाइ अनुसार फ्लूको लक्षण सामान्यदेखि अत्यन्त गम्भीर रूपसम्म देखिन सक्छ ।
विशेषज्ञहरूका अनुसार गम्भीर फ्लू भएका बिरामीले समयमा उपचार नपाए ज्यान जाने जोखिम पनि रहन्छ । फ्लूबाट जोगिन व्यक्तिगत सरसफाइ, मास्कको प्रयोग र सम्भावित खोपको प्रयोग आवश्यक हुन्छ ।
लक्षण देखिनुअघि नै अन्यलाई सर्छ रोग
सरुवा रोग विशेषज्ञ डा. पुनले फ्लू (इन्फ्लूएन्जा) संक्रमित व्यक्तिमा लक्षण देखिनुभन्दा एक दिनअघि नै अरूमा संक्रमण फैलिन सक्ने बताएका छन् । उनका अनुसार, लक्षण देखिएको २ देखि ३ दिनसम्म पनि संक्रमितले रोग सारिरहने सम्भावना हुन्छ ।
डा. पुनले सबैलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन र भीडभाडमा जाँदा मास्क र सावधानी अपनाउनुपर्ने बताएका छन् । हात धुने, खोक्दा वा हाछ्युँ गर्दा मुख ढाक्ने र बिरामीसँग नजिकमा गई सम्पर्क नगर्ने जस्ता उपाय अपनाउन पुनले आग्रह गरेका छन् ।
डा. पुनका अनुसार, फ्लू जटिल बनेमा निमोनिया जस्ता समस्या पनि निम्त्याउन सक्छ । उनले भने, ‘फ्लूका लक्षण प्रायः संक्रमण भएको एकदेखि चार दिनभित्र देखापर्छन् ।’
अहिले भीडभाड, चिसो, कमजोर रोग प्रतिरोध क्षमताका कारण संक्रमण फैलिने दर बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया