काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत आउने चर्चासँगै बारामा विरोध प्रदर्शन भएको छ ।
बुधबार पोखरेल र बस्नेत एमालेको कार्यक्रममा सहभागि हुन बारा जान लागेका थिए । बुद्ध एयरको जहाज मार्फत् नेताहरु सिमरा जान लागेको थाहा पाएसँगै त्यहाँ विरोध प्रदर्शन भएको थियो ।
बिहान १०ः३५ बुद्ध एयरको नाइन एन–एनएनआई कलसाइनको जहाजको उडानमार्फत् नेताहरु त्यसतर्फ जान लागेका थिए । बोर्डिङ लिएर प्लेनमा बसिसकेपछि उता विरोधको खबर आएकाले आफूहरुलाई प्लेनबाट ओरालिएको पत्रकार एवं मानवअधिकारकर्मी राजन कुँइकेलले लोकपथलार्ई जानकारी दिए ।
उनका अनुसार दिउँसो साढे १ बजेका लागि टिकट सारिएको छ ।
‘म लगायत मानवअधिकारकर्मीसहितको टोली पनि सोही जहाजमा चढेका थियौँ । सोही जहाजमार्फत् एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत पनि जान लाग्नुभएको रहेछ । उहाँहरु जाने थाहा पाएसँगै सिमरामा विरोध प्रदर्शन भएको खबर आएसँगै उड्न लागेको प्लेन रोकिएको छ,’ कुइँकेलले लोकपथसँग भने, ‘हामीलाई आजै साढे १ बजेको फ्लाइटमा लैजाने तय भएको छ । हामी विमानस्थलकै यात्रु प्रतिक्षालयमा पर्खिरहेका छौँ ।’
एम्नेस्टी ईन्टरनेसनल नेपालको ३४औँ वार्षिक साधारण सभामा सहभागी हुन एम्नेस्टी ईन्टरनेसनल नेपालका अध्यक्ष, पूर्वअध्यक्ष लगायतको टोली समेत सोही विमानमा रहेको थियो ।
विमानबाट ओर्लिएर शंकर पोखरेल र महेश बस्नेत विमानस्थलमै रहेको बताइएको छ ।
खासगरी जेनजी आन्दोलनपछि विभिन्न जिल्लामा पुगेका नेताहरुको विरोध प्रदर्शन भइरहेको छ ।
बारामा विरोध प्रदर्शन भएसँगै सुरक्षा व्यवस्था समेत कडाइ गरिएको छ । प्रदर्शन उग्र बन्दा त्यहाँ केही स्थानमा कर्फ्यू आदेश समेत जारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया