सशस्त्रमा तीन डीआईजी र एक एसएसपीको दरबन्दी थप : इन्टेलिजेन्स ब्युरो, कानुन र विपद् व्यवस्थापन महाशाखामा अब डीआईजी 

नीलबाराही गणलाई स्तरोन्नति गरियो, अब एसएसपीको नेतृत्व 

लोकपथ
14.7k
Shares

काठमाडौं । सरकारले थप आर्थिक भार नपर्ने गरी सशस्त्र प्रहरी बलमा तीन नायव महानिरीक्षक (डीआईजी) र एक वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी थप गरेको छ । 

हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट पठाइएको संगठन तथा व्यवस्थापन अध्ययन (ओएण्डएम) लाई आंशिक स्वीकृति दिँदै तल्लो तहको दरबन्दी घटाएर डीआईजी र एसएसपीको दरबन्दी थप गरेको हो । 

गृह मन्त्रालय स्रोतका अनुसार, इन्टेलिजेन्स ब्युरो, कानुन महाशाखा र विपद् व्यवस्थापन महाशाखामा डीआईजीको  दरबन्दी थप गरिएको हो । यसअघि यी तीनवटै ठाउँमा एसएसपी प्रमुख रहने व्यवस्था थियो । 

यस्तै, नम्बर ९ बाहिनी मातहतको नीलबाराही गण (नम्बर १८ गण) लाई स्तरोन्नति गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) ले नेतृत्व गर्दै आएको सो गणको नेतृत्व अब एसएसपीले गर्ने भएको छ । 

नम्बर ९ उपत्यका बाहिनीअन्तर्गत भक्तपुर, ललितपुर र काठमाडौंमा गरी ४ वटा गण रहेकोमा नीलबाराही गणलाई स्तरोन्नति गरिएको हो । सो गणले अहिले पनि काठमाडौंको समग्र सुरक्षा व्यवस्था हेर्ने गर्छ । 

स्रोतका अनुसार, कानुन महाशाखालाई निर्देशनालय बनाइएकाले अब सो महाशाखाका एसएसपी युवराज अर्याल डीआईजी बन्नेछन् । नेपाल प्रहरीमा २०५५ सालमा सहायक निरीक्षक (असई) मा भर्ना भएका अर्यालले पछि सशस्त्र प्रहरीको सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकमा नाम निकालेका थिए । 

सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दीपेन्द्र कुँवर र विष्णु भट्ट यसअघि नै डीआईजी बनिसकेका छन् ।

स्रोतका अनुसार, सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पतालमा एआईजीको दरबन्दी थप गर्न सशस्त्र मुख्यालयले गरेको प्रयास भने सफल हुन सकेन । नेपाल एपीएफ अस्पतालको प्रमुखमा अहिले डीआईजी रहने व्यवस्था छ । अस्पतालको प्रमुखमा डीआईजी डा.रूपक महर्जन छन् । आगामी फागुनमा उनको चार बर्से कार्यकाल सकिँदै छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार, संगठन प्रमुखको सिफारिसमा सरकारले डीआईजीको पदावधि एक वर्ष भने थप्न सक्छ । 

सशस्त्र मुख्यालयले निर्वाचन आयोग परिसरमा रहेको बाघभैरव गुल्मलाई पनि स्तरोन्नतिको प्रस्ताव गरेको थियो । तर सरकारले यसलाई स्वीकार गरेन । 

उता, डेढ महिनादेखि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा एक जना एसएसपीको दरबन्दी रिक्त भएपनि अहिलेसम्म पनि बढुवा प्रक्रिया अघि बढाइएको छैन । एसएसपी डा. शैलेन्द्रमान श्रेष्ठको अवकाशसँगै एसएसपीको एउटा पद रिक्त भएको हो । एसपीको वरीयतामा डा. प्रवीण नेपाल, डा. रोशु थापा, डा. मनोरञ्जन श्रेष्ठ, डा. सुमित्रा थापा र डा.सौजन्य कर्माचार्य छन् । 

नेपाल एपीएफ अस्पताल सशस्त्र प्रहरी मुख्यालयअन्तर्गतको मानवस्रोत विभागअन्तर्गत पर्छ । तर १४ महिनादेखि सो विभागको प्रमुखमा ‘विराजमान’ एआईजी वंशीराज दाहालले बढुवा सूचना निकाल्न सुरसार नै थालेका छैनन् । 

यस्तै, सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) रजनी थापाले तीन महिनाअगावै राजीनामा दिएको भएपनि अहिलेसम्म उनको राजीनामा स्वीकृत भएको छैन । सशस्त्र मुख्यालयले उनको राजीनामापत्र गृह मन्त्रालयलाई पठाएको भएपनि गृहले यो विषयमा कुनै कदम नचालेको हो । सिसं ५ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीएसपी थापाले पुल्चोकस्थित यूएन कार्यालयमा नियुक्ति पाएसँगै राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?