नेपालमा करिब १० लाखभन्दा बढी व्यक्ति मधुमेह यानेकी चलनचल्तीको भाषामा भनिने गरिएको सुगरबाट ग्रस्त छन् । थप १५ लाखमा प्रि-डायबिटिजको उच्च जोखिम रहेको अनुमान गरिएको छ । नियमित हिँडडुल, चिनी तथा प्रशोधित खाना कम गर्ने र वर्षमा एक पटक रगत जाँच गर्न चिकित्सकको सुझाव रहेको छ ।
अस्वस्थ खानपान, शारीरिक निष्क्रियता र बढ्दो तनावका कारण मधुमेहको समस्या झन् बढ्दै गइरहेको छ । ४० वर्ष उमेर समूहका युवाहरूमा पनि टाइप-२ मधुमेह तीव्र गतिमा फैलिरहेको छ ।
मधुमेह एउटा दीर्घ रोग हो । जसले शरीरमा सुगरको मात्रा असामान्य रूपमा बढाउँछ र समयमै उपचार तथा नियन्त्रण नगरे गम्भीर जटिलताहरू निम्त्याउँछ । अल्का अस्पतालकी डाक्टर प्रिया दर्शिनी योञ्जन यस रोगका कारण मुटु, मिर्गौला, आँखा तथा शरीरका विभिन्न अंगहरूमा असर पर्ने बताउँछिन् । मधुमेह सम्बन्धी चुनौतीहरू र रोकथामका उपायबारे योञ्जनकानुसार नेपालमा ‘टाइप–२ मधुमेह’ बढ्दो छ । मधुमेहका प्रारम्भिक लक्षणहरू अत्याधिक तिर्खा लाग्ने, धेरै पिसाब लाग्ने, अत्यधिक भोक लाग्ने, तौल घट्दै जाने भएपनि यी सबै लक्षण ५० प्रतिशत बिरामीमा मात्र देखिन्छन् । लक्षण नदेखिए पनि मधुमेह हुनसक्ने भएकाले वर्षमा एक पटक सबैले सुगर लेभल जाँच गर्नुपर्ने उनको सुझाव रहेको छ ।
‘मधुमेह हुने व्यक्तिहरूको हामीले लक्षणहरू सबै सुनेकै छौँ, जस्तै तिर्खा धेरै लाग्ने, पिसाब धेरै लाग्ने, भोक लाग्ने, तौल घट्दै जाने । यो लक्षणहरू सबैमा देखिँदैन, ५० प्रतिशतहरुमा मात्र यो लक्षण देखिन्छ । त्यसकारण लक्षणहरू आइसकेपछि जाँच गर्ने होइन, लक्षण नभएको व्यक्तिहरूमा पनि मधुमेह हुनसक्छ । त्यस कारण ३० वर्ष नाघिसकेका सबै व्यक्तिहरूले वर्षको एक चोटि लक्षणहरू नभए पनि आफ्नो ब्लड, सुगर चेक गर्ने गर्नुपर्दछ ।’
९० प्रतिशत भन्दा बढी बिरामी ‘टाइप–२’
विश्वभरका मधुमेहका बिरामीमध्ये ९० प्रतिशत ‘टाइप–२’ रोगी हुने तथा नेपालमा पनि यही प्रकार प्रमुख रहेको डा. योञ्जनले बताइन् । जीवनशैली, शारीरिक निष्क्रियता, मोटोपना, जङ्क फूडको बढ्दो प्रयोग तथा वंशाणुगत कारण यसका मुख्य जोखिमका कारक हुन् । नेपालमा ‘टाइप–१’ मधुमेह ५ प्रतिशत भन्दा कम देखिने भएपनि गर्भावस्थामा देखिने मधुमेह तथा औषधि वा हर्मोनल समस्याको कारण देखिने ‘सेकेण्डरी डायबिटिज’ समेत भेटिने उनको भनाइ छ ।
‘मधुमेहको संसारभरी हामीले यो मधुमेहको केसहरु बिरामीहरू देख्छौँ । त्यो ९० प्रतिशत भन्दा बढी ‘टाइप २’ अथवा ‘प्रकार दुई’ मधुमेहको पेसेन्टहरु हो । यो संसारभर नै धेरै मात्रामा देखिने टाइप टु नै हो, र हाम्रो क्लिनिकल प्राक्ट्रिसमा आउने मधुमेहको बिरामीहरू टाइप २ डायबिटिज पेसेन्टहरु नै हो ।’
जीवनशैली परिवर्तन नै प्रभावकारी रोकथाम
डा.योञ्जनकाअनुसार मधुमेह रोकथाम र नियन्त्रण दुवैका लागि साधारण जीवनशैली परिवर्तन नै सबैभन्दा प्रभावकारी उपाय हो । उनले धुमपान र मद्यपानलाई प्रमुख हानिकारक हुन् । यी दुवै पूर्णरूपमा त्याग्न सके मात्र दीर्घरोगसँग सम्बन्धित जोखिमहरू घटाउन सकिने उनको भनाइ छ । खानपानमा सुधार अर्काे महत्त्वपूर्ण पक्ष भएकाले बजारमा पाइने जङ्क फूड, प्रशोधित (प्याकेट) खाद्यपदार्थ तथा अत्यधिक चिनीयुक्त परिकारहरूलाई न्यून गर्न आग्रह गरिन् । सकेसम्म घरमै पकाइने ताजा र सन्तुलित भोजनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । दैनिक आहारमा हरियो साग र तरकारी फाइबरयुक्त खाना तथा प्रशोधित खाद्यपदार्थको न्यूनतम प्रयोग गर्नसके मधुमेहको दीर्घकालीन जोखिम घट्ने बताइन् ।

उनले भनिन्, ‘जीवनशैली भनेको यो रकेट साइन्स होइन । एकदमै गाह्रो कुरा होइन । यो सिम्पल लाइफ स्टाइल चेन्ज गर्ने कुरा हो । पहिले भनेको आफ्नो वेटलाई कन्ट्रोलमा राख्ने । कन्ट्रोलमा राख्ने भनेको तपाईँको वेट यदि तपाईँ अलिकति ओभर वेट हुनुहुन्छ भने वेटलाई पाँचदेखि दश प्रतिशतसम्म घटाउने ट्राई गर्नुहोस् र त्यो वेटलाई मेन्टेन गर्नुहोस् पहिलो भनेको त्यो हो । र जुन व्यक्तिको चाहिँ वेट राम्रो छ उहाँहरूले त्यो वेटलाई मेन्टेन गर्ने कुरा हो । दोस्रो भनेको यदि तपाईँ धूम्रपान, मध्यपान गर्नुहुन्छ भने यो कुराहरू चाहिँ छाड्ने र तेस्रो भनेको अहिले डेक्स जभ धेरै हुन्छ भनेको एउटै ठाउँमा बसेर लामो समय कम्प्युटर चलाउने अथवा त्यही पोजीसनमा काम गर्ने हुन्छ । त्यस्तो खालको यदि तपाईँको ड्युटी छ भने एकएक घण्टामा उठ्ने हात खुट्टा तन्काउने र दैनिक एक घण्टादेखि पैँतालिस मिनेट हिँडाइको लागि चाहिँ टार्गेट गर्ने । र अर्को लाइफस्टाइल चेन्ज भनेको सकेसम्म बाहिरको जुन हामी खाना खान्छौँ जुन जङ्क फुडहरू हुन्छ । बाहिर खाने कम गर्ने र घरमा प्याकेटको खानेकुराहरू सकेसम्म नराख्ने, सकेसम्म फ्रेस, ताजा घरमै भेजिटेबलहरु अथवा जे तपाईँको घरमा पाक्छ । घरमा पाकेको खानेकुरा चाहिँ यदि खानुभयो, यो सिम्पल दुई,तीन ओटा कुराहरू आफ्नो जीवनशैलीमा मिलाउन सक्नुभयो भने लामो समय नै डायबिटिजको रोकथाम चाहिँ हामी गर्नसक्छौं ।’
औषधि आफैँ बन्द नगर्न सुझाव
मधुमेह दीर्घ रोग भएकाले यो निको नहुने उनले भनाइ छ । कतिपय बिरामीहरूले सुगर लेभल कन्ट्रोलमा आउने बित्तिकै रोग निको भयो भनेर चिकित्सकको सल्लाह बिना औषधि प्रयोग गर्न छोड्ने र पुनः गम्भीर अवस्थामा फर्किने गरेको बताउँदै यसो नगर्न सुझाइन् । मधुमेह रोग औषधिको कम डोजमा र जीवनशैलीबाट नियन्त्रणमा आउने भएपनि डाक्टरको सुझाव, सल्लाह बिना परीक्षण बन्द गर्न नहुने उनले बताइन् ।
उनले भनिन्, ‘मधुमेह भनेको दीर्घ रोग हो । कतिले के भन्नुहुन्छ भने निको हुन्छ भनेर सुगर कन्ट्रोल आउने बित्तिकै बिरामीहरू चेकअपको लागि आउनुहुन्न, औषधि आफैँ बन्द गरिदिनु हुन्छ, अनि त्यसको तीन, चार वर्षपछि कुनै जटिलताहरू आएपछि अथवा सुगर एकदमै नराम्रो भएपछि फेरि फर्किएर आउनुहुन्छ । म के भन्न चाहन्छु भने यो दीर्घ रोग हो यो रेमिसनमा जानसक्छ, रेमिसन भनेको के हो भने औषधि एकदमै कम डोजमा र जीवनशैलीबाट कसै कसैमा कन्ट्रोलमा आउँछ । तर डाक्टरको सुझाव, सल्लाह बिना चाहिँ आफ्नो औषधि आफ्नो ट्रिटमेण्ट र आफ्नो चेकअप बन्द नगर्नुहोस् ।’
युवाहरूमा ‘इन्स्टेन्ट लाइफस्टाइल’ को प्रवृत्ति बढ्दै गइरहेकाले मधुमेह नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको डा.योञ्जनले बताइन् । मोबाइलको अत्यधिक प्रयोग, व्यायामप्रति कम रुचि र इन्स्टेन्ट फुडको बढ्दो सेवन नै मुख्य कारण रहेको उनको भनाइ छ । उनले समुदाय स्तरमा जागरण कार्यक्रम, स्वास्थ्य क्याम्प र जीवनशैली सचेतना अभियान बढाउनुपर्ने आवश्यकता उनले औँल्याइन् ।
के हो मधुमेह ?
मधुमेह एक प्रकारको दीर्घ रोग हो । हाम्रो शरीरमा चिनीको मात्रा बढ्दै जान्छ । चिनीको मात्रा उच्च भएपछि समस्या निम्त्याउँछ । यो दीर्घ रोग भएको हुनाले यसबाट समयमा नै उपचार गर्न नसके वा यसलाई नियन्त्रणमा राख्न नसके जटिलताहरू थपिने डा. योञ्जन बताउँछिन् । यसबाट मुटुको समस्या बढी हुन्छ । हृदयाघात हुने डर दुईदेखि चार गुणा बढी हुन्छ । यसले आँखा, मिर्गौला र शरीरका अरू अंगहरुमा पनि असर गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया