काठमाडौं । पेय पदार्थको व्यापारमा पेप्सी कम्पनीको नामले परिचित वरुण वेभरेजले आफ्नो बजार हिस्सामा ऐतिहासिक सफलता हात पारेको छ । पहिले करिब ३९ प्रतिशत मात्रै बजार हिस्सा रहेको पेप्सीले अहिले नेपालमा करिब ४६ प्रतिशत बजार हिस्सा पुगेको छ ।
यसअघि करिब ५९ प्रतिशत रहेको कोकाकोलाको बजार हिस्सा भने करिब ५४ प्रतिशतमा झरेको छ । वरुण वेभरेजले आफ्नो बजारलाई आक्रामकरुपमा बिस्तारै गरेसँगै कोकाकोला कम्पनीको व्यापारमा भने गिरावट आएको हो ।
नेपालको अधिकांश ठुला कम्पनीहरूको क्रेडिट रेटिङ गराइहरेको इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा वरुण वेभरेजको बजार हिस्सा करिब ४६ प्रतिशत पुगेको हो ।

पेप्सी कम्पनीका रूपमा परिचित वरुण वेभरेजको आफ्नो बजार हिस्सा बढ्नुमा सबैभन्दा ठुलो देन भने चिसो पेय पदार्थ माउन्टेन ड्यूको रहेको छ । पेप्सी कम्पनीले गर्ने व्यापार र आम्दानीको करिब ८५ प्रतिशत हिस्सा माउन्टेन ड्यूको मात्रै रहेको पाइएको छ । यसले के देखाउँछ भने नेपालमा चिसो पेय पदार्थको बजारमा माउन्टेन ड्यूको माग उच्च रहेको छ ।
कोकाकोलाको हिस्सा संकुचित
आर्थिक वर्ष २०८१ मा कोकाकोला निर्माता बोटलर्स नेपाल लिमिटेडको बजार हिस्सा ५४ प्रतिशतमा झरेको छ । सन् २०२३ मा कोकाकोलाको बजार हिस्सा ५९ प्रतिशत र पेप्सीको बजार हिस्सा ३९ प्रतिशत रहेकामा सन् २०२४ को अवधिमा पेप्सीले व्यापारमा सुधार गर्दा कोकाकोलाको लोकप्रियता घटेको हो ।
वित्तीय रूपमा पनि वरुण वेभरेज बलियो
पेप्सीले आफ्नो बजार हिस्सा बढाएसँगै वित्तीय अवस्थामा पनि ठुलो सुधार गरेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई सबैभन्दा उच्च ‘ए वान प्लस (ए१+)’ रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको, नगद प्रवाह पर्याप्त रहेको र ऋण निर्भरता नगण्य रहेको कुराको संकेत गर्दछ ।

वरुण वेभरेजको ऋण-स्वामित्व अनुपात शून्य दशमलव २ गुणा मात्र रहेको छ, जसले कम्पनीको पुँजीको केवल २० प्रतिशत मात्र ऋण हो भन्ने बुझाउँछ । साथै, कम्पनीको ब्याज तिर्ने क्षमता ३८ दशमलव २ गुणा रहेको छ, जसको अर्थ यो वर्षको नाफाले आगामी ३८ वर्षसम्म पनि बैंकको ब्याज तिर्न सक्ने क्षमता राख्दछ । यो गत वर्षको अवधिमा भएको नाफामा उल्लेख्य वृद्धिसमेत हो । गत आर्थिक वर्षको समान अवधिको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन नाफामा समेत उल्लेखनीय वृद्धि भएको छ ।
वरुण वेभरेजको वित्तीय तथ्यांक :
| आर्थिक वर्ष | बिक्री आम्दानी (रु. करोडमा) | सञ्चालन नाफा मार्जिन (%) | ऋण–स्वामित्व अनुपात | ब्याज तिर्ने क्षमता (गुणा) |
|---|---|---|---|---|
| २०७७/७८ | ६५४.२ | २६.३% | ०.३ गुणा | ३२.८ गुणा |
| २०७८/७९ | ८०२.४ | २१.२% | ०.१ गुणा | ३२.७ गुणा |
| २०७९/८० | ७६२.७ | २२.२% | ०.१ गुणा | १५.८ गुणा |
| २०८०/८१ | ७७४.७ | २५.५% | ०.२ गुणा | २८.३ गुणा |
| २०८१/८२ (८ महिना) | ५७८.२ | २८.४% | ०.२ गुणा | ३८.२ गुणा |
वरुण वेभरेजका उत्पादनहरू

चिसो पेय पदार्थ र सोडा तथा पानीको व्यापारमा नेपालमा आफ्नो बलियो उपस्थिति देखाएको पेप्सी कम्पनी अर्थात् वरुण वेभरेजको पेप्सी, माउन्टेन ड्यू, स्लाइस जस्ता उत्पादनहरू हिरो प्रोडक्टस् अर्थात् सबैभन्दा बढी रुचाइएका उत्पादनहरू हुन् । त्यसै गरी मिरिण्डा र सेभेन अप कोल्ड ड्रिंक्स, अक्वाफिना पानी, सोडा तथा स्ट्रिङ इनर्जी ड्रिंक्स पनि वरुण वेभरेजका चर्चित उत्पादनहरू हुन् । कम्पनीले सन् १९८५ देखि नै नेपालमा बहुराष्ट्रिय कम्पनीका रूपमा आफ्ना उत्पादन सुरु गरी विक्री वितरण गरिरहेको छ ।
उत्कृष्ट व्यावसायिक प्रदर्शन
वरुण वेभरेज नेपालले पछिल्ला वर्षहरूमा आफ्नो वित्तीय तथा व्यावसायिक प्रदर्शनमा उल्लेख्य सुधार ल्याएको तथ्यांकले देखाएको छ । इक्रा नेपालबाट प्राप्त ‘ए वान प्लस’ रेटिङले कम्पनीको ऋण फिर्ता क्षमता बलियो रहेको देखाउँछ । कम ऋण, उच्च नगद सञ्चिति र बलियो ब्रान्ड तथा अघिल्लो आर्थिक वर्षमा भन्दा पनि भर्खरै सकिएको आर्थिक वर्षको करिब ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन नाफामा समेत उल्लेख्य वृद्धि भएको देखिन्छ । पछिल्लो ५ वर्षमा भन्दा पनि यस आर्थिक वर्षमा सञ्चालन मुनाफा वृद्धि भई २८ दशमलव ४ प्रतिशत पुगेको छ, जसले कम्पनी झनै बलियो र सबल बन्दै गएको देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया