दिवंगत सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी 

लोकपथ
224
Shares

काठमाडौं ।  अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत वर्षको चैत १५ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्न पहल गर्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा स्व.रजककी श्रीमती सुजन मगियालाई सरकारको तर्फबाट रोजगारी दिँदै यस्तो घोषणा गरेका हुन् ।

उनले सुरेशलाई पत्रकार शहीदको रुपमा घोषणा गर्नुपर्ने आफ्नो माग रहेको र सोहीअनुसार प्रक्रिया अघि बढाउने बताए । सूजनलाई सरकारको तर्फबाट सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ ।

यदि सूजनले अध्ययन गर्न चाहेको खण्डमा कुनैपनि क्याम्पसमा अध्ययनका लागि सरकार र आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनका क्रममा भिडियो कैद गर्ने क्रममा ज्यान गएको थियो ।

उनले भने, ‘सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ । यो कानुनसम्मत हिसाबले मन्त्रालयबाट नियुक्त गरिएको हो । उहाँको चाहनाअनुसार थोरै भए पनि राहत दिनसक्छ की भन्ने हो । यसबाट जागिरको सुरुवात हुन्छ, जागिर नवीकरण हुँदै जान्छ । सुजन बहिनीले पढ्न चाहनुभयो भने कुनैपनि विषयमा अध्ययन गर्ने चाहना छ भने सम्बन्धित कलेजमा पढाइदिन छात्रवृत्ति, छुट र सजिलोसँग पढ्ने वातावरण मिलाउने मेरो चाहना छ । तपाईँले कुनै कलेजमा अध्ययन गर्ने चाहना छ भने म मेरो व्यक्तिगत र सरकारको तर्फबाट पनि बहिनीलाई सहयोग गर्नेछु । सुरेशलाई पत्रकार शहीदको रुपमा घोषणा गरिनुपर्छ । सरकारको मन्त्रीको हिसाबले यो प्रक्रिया बढाउन म प्रतिबद्ध छु ।’

स्व। पत्रकार रजकको सालिक बनाउने प्रक्रिया पनि सरकारले अध्ययन गरिरहेको र यसबारेमा सरकारले निर्णय गर्ने बताए । सुरेसकोमात्रै छानबिन गर्ने घटना नभएको भन्दै घटनाको अन्य सबै कुराहरूको बारेमा अध्ययन हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?