काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने निर्णय गरेको छ । यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाबाट प्रस्ताव माग गरिएको हो ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक संस्थाले आफूले लिन चाहेको रकम तथा प्रस्तावित ब्याजदर उल्लेख गरी मंगलबार साँझ ७ बजेसम्म आवेदन दिन सक्नेछन् । उक्त रकम एक वर्षका लागि लगानी गरिने जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार वाणिज्य बैंकका लागि दुई अर्ब ८२ करोड ४० लाख, विकास बैंकका लागि ५२ करोड ९५ लाख र वित्त कम्पनीका लागि १७ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ ।
लगानीका लागि आवेदन दिने बैंक तथा वित्तीय संस्थाले सञ्चालनको दुई वर्ष पूरा भएको, न्यूनतम कूल पुँजीकोष कायम रहेको, कूल कर्जा–सापटी अनुपात आठ प्रतिशत ननाघेको र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशतभित्र रहेकोजस्ता सर्तहरू पूरा गर्नुपर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया