राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक : वामदेव, नारायणकाजीसहित १९ जनाको पदावधि सकिँदै

लोकपथ
602
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रिय सभाका १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आगामी पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन गरिने भएको छ । यस्तै, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने छ ।

यस्तै, पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन, पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान र माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुने आयोगले जनाएको छ ।

आगामी फागुन २० मा राष्ट्रिय सभाका १९ जनाको पदावधि सकिँदै छ । १९ मध्ये १८ जनाको माघ ११ गते निर्वाचन हुने भएको हो । एक जना भने सरकारद्वारा मनोनीतको कार्यकाल सकिने भएको हो ।  

कार्यकाल सकिने सांसदमा सबैभन्दा बढी नेकपा एमालेका ८ जना रहेका छन् । त्यस्तै, तत्कालीन नेकपा माओवादी केन्द्रका ७ जना, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाका एक–एक जना रहेका छन् । 

पदावधि सकिने एमालेका सांसदमा तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, इन्दिरादेवी गौतम, गोपाल भट्टराई, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसी रहेका छन् । त्यस्तै माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, तारामान स्वाँर, मायाप्रसाद शर्मा, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा र राधेश्याम पासवान रहेका छन् ।

यस्तै, तत्कालीन एकीकृत समाजवादीका डा. बेदुराम भुसाल र बामदेव गौतमको कार्यकाल सकिँदै छ । गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । तर हाल उनी नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन् । उनी एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका हुन् । त्यस्तै जसपा नेपालका मृगेन्द्रकुमारसिंह यादव र लोसपाका शेखरकुमार सिंहको पदावधि सकिँदै छ ।

राष्ट्रिय सभाको सांसदको निर्वाचनमा प्रदेशका सांसद, नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने गर्दछन् । 

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८–८ जना र ३ जना राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था रहेको छ । प्रदेशबाट निर्वाचित हुने ८ जनामा तीन जना महिला, एक जना दलित, एक जना अपांगता भएका वा अल्पसंख्यक सदस्य हुने व्यवस्था गरिएको छ भने अन्य तीन जना खुला उम्मेदवार हुने गर्दछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?