सुरक्षा जोखिम भएपछि चन्द्रागिरि केबलकार अनिश्चितकालका लागि बन्द

लोकपथ
791
Shares

काठमाडौं । जेन जी आन्दोलनका क्रममा आगजनी भएपछि भदौ २४ गतेपछि बन्द भएको चन्द्रागिरि केबलकार अझै सञ्चालनमा आउन सकेको छैन । केबलकारका बेस स्टेसनमा आगजनी भएपछि केबलकारको सञ्चालन बन्द भएको थियो ।

बन्द भएको केबलकार करिब २ महिनापछि कात्तिक २० गतेबाट सञ्चालनमा आएको थियो । अस्ट्रियाबाट इन्जिनियरसहितको टोली मगाई मर्मत गरेपछि सञ्चालन सुरु भए पनि पुनः समस्या देखिएपछि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

कात्तिक २० गतेबाट तीन दिन चलेपछि केबलकारमा पुनः समस्या देखिएको थियो । केबलकारको कतिपय गोण्डला तथा तारहरूमा कालो धुवाँ पाइएको थियो । यसले पछि समस्या ल्याउन सक्ने भन्दै सबै तारहरू फेर्न सुझाएपछि केबलकार सेवा कात्तिक २४ गतेबाट पुनः बन्द भएको हो ।

चन्द्रागिरि हिल्स प्रालिका सिइओ अरुण प्रधानका अनुसार केबलकारमा रहेका सेन्सरले केही समस्या देखाएपछि अहिले फेरि सञ्चालन रोकेर मर्मतको काम भइरहेको छ । सिइओ प्रधानका अनुसार अहिले अस्ट्रियाबाट केबलकारका सामान मगाइएको छ र मर्मतका लागि तयारी अवस्थामा रहेको छ । तर अस्ट्रियाबाट सामान आई भन्सार पास हुन समय लाग्ने भएकाले अझै कम्तीमा दुई साता केबलकार सञ्चालनमा आउन नसक्ने देखिएको छ ।

सिइओ प्रधानले भने, ‘अहिले अस्ट्रियाबाट प्राविधिकहरू आइसक्नु भएको छ । सामान पनि मगाएका छौँ र ती सामानहरू आएर मर्मत पूरा हुन कम्तीमा दुई साता लाग्ने देखिएको छ । त्यसपछि सञ्चालनमा ल्याउन सकिएका कि भन्ने छ ।’

पहिलो चरणको मर्मतपछि तीन दिन सेवा सुचारु गरेको भए पनि सुरक्षा जोखिम भएको भन्दै अष्ट्रियन कम्पनीले सेवा बन्द गर्न भनेको थियो । त्यसपछि थप सामान मगाएर सामान फेरेपछि मात्रै सञ्चालन गर्न लागिएको हो ।

अहिले चन्द्रागिरि केबलकार बन्द भए पनि पैदल मार्गबाट चन्द्रागिरि जाने भक्तजन तथा सेवाग्राहीका लागि मन्दिर तथा टप स्टेसन खुला नै राखिएको छ । सिइओ प्रधानका अनुसार गत शनिवार पनि करिब ४ सय जना सेवाग्राही चन्द्रागिरि डाँडामा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?