राजबहादुर शाह व्यक्तिगत आयकरतर्फ यसपटक पनि उत्कृष्ट करदाता घोषित, कम्पनीतर्फ नेपाल टेलिकम

लोकपथ
273
Shares

काठमाडौं । राजबहादुर शाह व्यक्तिगत आयकरतर्फ यसपटक पनि उत्कृष्ट करदाता घोषित भएका छन् । आन्तरिक राजस्व विभागले व्यक्तिगत आयकर सबैभन्दा धेरै तिरेका शाहलाई उत्कृष्ट करदाताको रूपमा सम्मानसमेत गरेको छ । 

२०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा हरेक वर्ष सरकारले मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस मनाउँदै आएकोमा यस पटक पनि विभागले विभिन्न कार्यक्रम आयोजना गरेर १४औँ राष्ट्रिय कर दिवस मनायो । यस दिन विभागले सबैभन्दा धेरै कर तिर्ने करदातालाई विभिन्न विधामा सम्मान गर्दै आएको छ । तर करदाताले तिरेको कर भने खुलाउने गरिएको छैन ।

आर्थिक वर्ष २०८०/०८१ को आय विवरणअनुसार निकायतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ । यस्तै, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल, वस्तु निर्माणको कारोबारतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्नेमा डाबर नेपाल प्रालि, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रालि रहेको छ । 

यसैगरी, कृषि एवं पशुपक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक, वित्तीय संस्था र बिमाको कारोबार गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लि, पर्यटन व्यवसाय गर्नेमा सोल्टी होटल लिमिटेड सम्मानित भएका छन् । यसैगरी वस्तु व्यापारको कारोबार गर्नेमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेण्टल स्टोर प्रालि, वार्षिक कारोबार रकम ५० करोडभन्दा बढी १ सय करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामा ब्रि.डि.एस.एन्ड क्लियरिङ लि. रहेको छ । 

डमीमूलक उद्योगमा सबैभन्दा बढी आयकर दाखिला भोटेकोशी पावर कम्पनी प्रालिले गर्दा रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमा आईएमई लिमिटेड उत्कृष्ट करदाता बन्न पुगेको छ । 

२०७६ साउनदेखि २०८२ असार मसान्तसम्मको कर अवधिमा मु.अ.कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूअ.कर दाखिला दूरसञ्चार नेपाल लिमिटेडले गरेको छ ।  

वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदाताहरूमध्ये आ.व. २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा भि.एफ. सर्भिसेज (मौरिसस) सम्मानित भएको छ । विशेष उद्योगहरूमध्ये आ.व. २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा यूनिलिभर नेपाल लिमिटेडले  सम्मान प्राप्त गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?