काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग भेटेर पार्टी गतिविधिबारे ब्रिफिङ गरेका छन् । आइतबार दिउँसो देउवा हाल अस्थायी रुपमा बसिरहेको निवासमै पुगेर शर्माले १ घण्टा हाराहारी भेट गरेका हुन् ।
भेटका क्रममा देउवाको स्वास्थ्यलाभबाट कुरा सुरु भएर विद्रोहको चेतावनीसम्मका कुरा भएको शर्मा निकट एक नेताले लोकपथलाई जानकारी दिए ।
देउवा शुक्रबार राति मात्रै सिंगापुरबाट उपचार गरेर फर्किएका थिए । जेनजी आन्दोलनपछि घाइते भएका देउवा सिंगापुरबाट फर्किएपछि शनिबारबाटै भेटघाटमा व्यस्त छन् ।
देउवाको अस्थायी निवासमा पुगेका विश्प्रकाशले सुरुमा स्वास्थ्य लाभको कामना गर्दै पार्टीको स्वास्थ्यको विषयमा समेत जानकारी गराएका थिए । आगामी निर्वाचनमा पार्टीले सुझबुझपूर्ण निर्णय नलिए क्षति ब्यहोर्नेसम्मको विषय जानकारी गराए ।
देउवाले आफू त्यस विषयमा जानकार रहेको बताए । तर पार्टीभित्र भइरहेको महाधिवेशनको बहसका विषयमा भने सभापति र महामन्त्रीबिच मतभिन्नता देखिएको थियो ।
देउवाले शनिबार नै आफू निकटका नेताहरुसँग भेटघाट गरी घटनाक्रमबारे बुझेका थिए । ती नेताहरुले देउवामाथि निर्वाचनअघि महाधिवेशन गर्न नहुने पक्षमा दबाब बढाएका थिए ।
यता कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर नै गरेर विशेष महाधिवेशनका लागि दबाब बढाइरहेका छन् । संस्थापन इतरका नेताहरु मात्र होइन संस्थापन पक्षकै नेताहरुले समेत निर्वाचनअघि महाधिवेशनका लागि दबाब बढाइरहेका छन् ।
देउवाले विश्वप्रकाशसम्म निर्वाचनअघि महाधिवेशन सम्भव नभएको संकेत गरेपछि विश्वप्रकाशले भने त्यसले पार्टीमाथि क्षति ब्यहोर्ने भन्दै सचेत गराए । तर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरको अबमूल्यन हुने अवस्था आए आफूले महामन्त्रीबाट राजीनामा दिने समेत चेतावनी दिए । उनले सकेसम्म पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरेरै भए पनि नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखे ।
‘उहाँको आज पार्टी सभापतिज्यूसँग लामो भेटघाट भयो । उहाँले सभापतिज्यूलाई यसबिचका घटनाक्रमबारे ब्रिफिङ गर्नुभयो । साथै अहिले कांग्रेसमा निर्वाचनअघि महाधिवेशन गर्नुपर्छ भन्ने आवाज बलियो रहेको समेत जानकारी गराउनुभयो । तर देउवा निर्वाचनअघि भन्दा निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने पक्षमा देखिनुभयो,’ ती नेताले लोकपथसँग भने, ‘त्यसपछि उहाँले स्पष्टसँग पार्टीमा पुसमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरेर निर्वाचनअघि नेतृत्व परिवर्तन गर्ने पक्षमा पार्टी नगए आफूले पदबाट राजीनामा दिन्छु भनेर हिँड्नुभयो ।’
असोज २८ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक एक महिना बितिसक्दा समेत निर्णयमा पुग्न सकेको छैन । पहिलो दिनको बैठकमा सम्बोधन दिँदै कार्यबाहक दिएर देउवा केही दिनपछि सिंगापुर उडेका थिए । महाधिवेशनको विषयले कांग्रेसभित्र किचलो बहिढरहँदा देउवा स्वदेश फर्किएपछि भने कांग्रेस निष्कर्षमा पुग्ने आँकलन समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया