‘करेन्ट’ चाउचाउ कि गुट्खा ? मालपानीलाई कानुन लाग्दैन ?

लोकपथ
917
Shares

काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थ नियन्त्रण ऐनको घोर उल्लंघन गर्दै कमल प्रसाद मालपानी लगायतको समूहले एउटै ब्राण्ड नाम ‘करेन्ट’ मा चाउचाउ र गुट्खा उत्पादन र वितरण गरिरहेको लामो समय भयो ।

मालपानी लगायत समूहको यो व्यापारले नेपालको कानुनी व्यवस्थाको धज्जी मात्रै उडाइरहेको छैन, सार्वजनिक स्वास्थ्यलाई पनि गम्भीर जोखिममा पारिरहेको छ । 

यसोधा फुड्स प्रालि नाममा उत्पादन भइरहेको करेन्ट चाउचाउको ट्रेडमार्क लगायतका विवाद त अहिले पनि अदालतमा चलिरहेकै छ, यही बेला श्रीराम टोबाको प्रालिको नाममा करेन्ट गुट्खाको उत्पादन र विक्री वितरण र उपभोक्ता अधिकारका विषयमा पनि गम्भीर सवालहरू आइरहेका छन् । करेन्ट गुट्खाको विवादसँगै यसले उपभोक्ता, अभिभावक र स्वास्थ्य विशेषज्ञहरूको समेत चिन्ता बढाएको छ ।

कानुनी व्यवस्थाको स्पष्ट उल्लंघन

सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को धारा ७(३) ले स्पष्ट रूपमा “कसैले पनि अन्य उद्योग तथा उत्पादनको ब्राण्ड तथा ट्रेड नाम राखी सुर्तिजन्य पदार्थ उत्पादन गर्न पाउने छैन” भनी व्यवस्था गरेको छ । तर मालपानी लगायतको समूहले यसलाई पूर्ण रूपमा उपेक्षा गर्दै आफ्नै समूह मातहत रहेको श्रीराम टोबाको उद्योगबाट ‘करेन्ट गुट्खा’ र यशोदा फुड्सबाट ‘करेन्ट चाउचाउ’ को उत्पादन गरी विक्री वितरण गरिहरेको छ । यसरी एउटै ब्राण्डको प्रयोगले उपभोक्तालाई सुर्तिजन्य र असुर्तिजन्य वस्तुबिच भ्रम मात्रै पारेको छैन, कानुनको सीधा उल्लंघन समेत गरिरहेको छ ।

बालबालिकाको मानसिकतामा पर्ने गम्भीर असर

चाउचाउ साना बालबालिकाको लागि चर्चित खानेकुरा हो । बालबालिकाका लागि चाउचाउमा प्रयोग गरिने मोनोसोडियम ग्लुटामेट अर्थात् एमएसजी बालबालिकाका स्वास्थ्यका लागि हानिकारक मानिन्छ । एमएसजीले खानाको स्वादलाई बढाएपनि कालान्तरमा यसले बालबालिकाको मानसिक स्वास्थ्यमा असर गर्ने अनुसन्धानले देखाएको छ । 

तर ‘मीठो’ स्वाद भन्दै बजारमा छ्यापछ्याप्ती पाइने त्यही करेन्टकै नामबाट गुट्खा पनि बजारमा उपलब्ध हुँदा बालबालिकामा कुन चाउचाउ हो र कुन गुट्खा हो भनेर बुझ्न पनि कठिन हुने अवस्था आएको छ । करेन्ट कै नाममा बजारमा गुट्खा पाइँदा बालबालिकाको मानसिकतामा पनि गम्भीर असर गर्न सक्ने विशेषज्ञहरूको चेतावनी छ । 

यसले बालबालिकाको मानसिकता र चेतनामा गम्भीर असर पारेको छ । एउटै ब्राण्डको नामले बालबालिकालाई सुर्तिजन्य पदार्थ र खाद्यवस्तुबिचको भेद बुझ्न अवरोध पुराइरहेको छ । अभिभावकहरूले आफ्ना साना छोराछोरीले ‘करेन्ट’ भन्ने शब्दलाई चाउचाउ र गुट्खा दुवैको लागि प्रयोग गरेको सुन्छन्, जसले गर्दा उनीहरू असमन्जसमा पर्नु स्वाभाविक छ । यसले गर्दा बालबालिकाको मानसिक विकासमा नकारात्मक असर पर्ने र सुर्तिजन्य पदार्थप्रतिको सामान्यीकरण बढ्ने खतरा रहेको छ ।

अन्तर्राष्ट्रिय प्रतिबद्धताको उल्लंघन

नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरिसकेको छ र सन्धि ऐन, २०४७ को दफा ९ बमोजिम यसलाई राष्ट्रिय कानुनकै मान्यता दिनुपर्ने हुन्छ । तर मालपानी समूहले यस अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पनि गम्भीरतापूर्वक नलिई कानुनको धज्जी उडाएको छ । विश्वमा ६५ प्रतिशत तम्बाकू उपभोक्ता भारतमा रहेका छन् र ९० प्रतिशत मुख क्यान्सरको कारण गुट्खा वा तम्बाकूको सेवन नै हो भन्ने तथ्यलाई नेपालले पनि ध्यानमा राख्नुपर्ने हुन्छ ।

क्षेत्रीय सन्दर्भ: छिमेकी देशका प्रदेशहरूमा प्रतिबन्ध

यस्तो अपराधलाई अन्य देशहरूले कसरी हेरेका छन् भने भारतको झारखण्ड, पश्चिम बंगाल, दिल्ली लगायतका राज्यहरूमा पनि गुट्खा र पान मसालाको उत्पादन, भण्डारण र बिक्रीमा कडा प्रतिबन्ध लगाइएको छ । उदाहरणका लागि, झारखण्ड सरकारले गत वर्षको माघ महिनादेखि एक वर्षका लागि गुट्खा र पान मसालामा प्रतिबन्ध लगाएको छ । यस्तो प्रतिबन्धहरू एक वर्षपछि मात्रै पुनर्विचार गरिने र त्यसपछि पनि निरन्तर प्रतिबन्धमा पर्न सक्ने जनाइएको छ । किनभने झारखण्डमा प्रत्येक एक लाख मानिसमध्ये ७० जनामा मुखको क्यान्सर देखिएको छ र त्यसको कारण भने ९९ प्रतिशतमा गुट्खाको प्रयोग नै देखिएको छ । यी प्रतिबन्धहरू जनस्वास्थ्य सुरक्षाको लागि राखिएका हुन् र नेपालले पनि यस्ता कडा कदमहरूबाट सिक्नुपर्ने आवश्यकता छ ।

नियामक निकायहरूको रहस्यमय मौनता

नेपालमा सबैभन्दा चासोका विषय के हो भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता हित संरक्षण विभाग, वाणिज्य विभाग, उद्योग विभाग तथा स्वास्थ्य मन्त्रालय जस्ता नियामक निकायहरू यस विषयमा पूर्ण रूपमा मौन छन् । स्पष्ट कानुनी व्यवस्था रहेको अवस्थामा पनि कुनै कारबाही नभएकोले नियामक निकायहरूले कानुनी उल्लंघनलाई नदेखेको वा प्रभावशाली उद्योगहरूको दबाबमा आँखा चिम्लिएको आरोप समेत लाग्ने गरेको छ । बजार अनुगमनको नाममा कहिलेकाहीँ सामान्य जरिवाना बाहेक नियामक निकायले यस विषयमा गम्भीर चासो राखेको पाइँदैन ।  उद्योग विभागले त लिखित उजुरी आएमा पनि दर्ता नै नगर्ने वा बदर गर्न सक्ने गरी नियमनको नाममा औपचारिकता मात्रै निभाउने गरेको आरोप लाग्ने गरेको छ ।

सार्वजनिक स्वास्थ्य र कानुनको दोहोरो चुनौती

मालपानी समूहले ‘करेन्ट’ नामको ब्राण्डमा दोहोरो प्रयोग गरी गुट्खा र चाउचाउ बेच्ने रणनीतिले सार्वजनिक स्वास्थ्य, बालबालिकाको मानसिक विकास र कानुनको शासनमाथि गम्भीर धक्का दिएको छ । तर सरकार र नियामक निकायहरूले तुरुन्तै हस्तक्षेप गरी कानुनको पालना सुनिश्चित गराउने, उल्लंघनकर्ताको विरुद्धमा कडा कारबाही गर्ने र जनतालाई सचेत गर्ने काममा भने उदासीनता देखाइरहेका छन् ।

त्यसो त व्यवसायी मालपानीलाई सुपारी तस्करीको आरोप समेत लाग्ने गरेको छ । मालपानीले विवादास्पद व्यापारी दीपक भट्टमार्फत सुपारीको तस्करी गर्ने गरेको र गर्ने र त्यसका लागि भट्टलाई भट्टको स्वामित्व रहेको कम्पनीको नाममा सित्तैमा सेयर दिई शेयर धनीका रूपमा राखिएको आरोप लाग्ने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?