काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतरका नेताहरुले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा आवश्यक निर्णय लिन पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।
केन्द्रीय सदस्यद्धय तारामान गुरुङ, प्रतिमा गौतम र महाधिवेशन प्रतिनिधि सीता मिजारले समयमै महाधिवेशन गराउने अडानमा सभापति देउवाले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय लिने विश्वास व्यक्त गरेका छन् । सिंगापुरको उपचारपछि स्वदेश फर्किएका सभापति देउवाले पार्टीका नेताहरुसँग निर्वाचनमा जाने तयारीका साथ छलफल अघि बढाइरहेका छन् । नेता तारामान गुरुङले विधानसम्मत ढंगले महाधिवेशन गरेर मात्रै निर्वाचनमा जानुको विकल्प नरहेको जिकिर गरे । उनले पार्टी सभापति देउवाले गत असोज २८ गते केन्द्रीय कार्य समिति बैठक शुभारम्भ गर्ने क्रममा समयमा नै महाधिवेशन गर्ने मत राखेको र सोही अनुसार पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गरेर पहिला महाधिवेशन हुनेमा आफूहरु विश्वस्त रहेको बताए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोली (सोमवार) अपरान्ह २ बजे बोलाइएको छ । पार्टी सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्दै सिंगापुर उपचारमा जानुअघि केन्द्रीय कार्यसमिति बैठकमा समयमा नै महाधिवेशन गर्ने प्रतिवद्धता व्यक्त गरेकाले सोहीअनुसार पार्टीले महाधिवेशन गरेर मात्रै निर्वाचनमा जाने निर्णय लिने उनको तर्क थियो ।
केन्द्रीय सदस्य गुरुङले भने– ‘सभापतिजीले केन्द्रीय कार्य समिति बैठक शुरु गरेको दिन के भन्नुभएको छ भने–म उपचारका लागि बाहिर जाने भए । कार्यवाहक सभापति पूर्णबहादुर दाईलाई दिनुभयो । त्यो बेला उहाँले के भन्नुहुनेछ भने विधान बमोजिम, विधानसम्मत समयवधिभित्र अधिवेशन गर्नेगर्नु । पार्टी भित्र नेतृत्वका लागि सर्वसम्मत हुने अवस्था बनाउनु । यो भनेर सभापतिजीले त्यो दिन नै निर्देशन गर्नुभएको छ । अब त्यो शब्दलाई सभापतिजी आउनुभएको छ । उहाँ स्वास्थ्य लाभ गरेर आउनुभएको छ । उहाँलाई हामीले यहाँ स्वागत गरेका छौ । र, उहाँले भोली बोलाइएको केन्द्रीय कार्य समितिमा यो शब्द परिवर्तन गर्नुहुन्छ होला जस्तो मलाई लाग्दैन । त्यसो भएको हुनाले भोली सर्वसम्मत रुपबाट पुस मसान्तभित्र नियमित महाधिवेशन वा विशेष अधिवेशनको निर्णय हामी गर्छौ भन्ने कुरामा म ढुक्क छु । र यसमा अल्पमत वा बहुमतको कुरा हुँदैन भन्नेकुरामा पनि विश्वस्त छु । हामीले पार्टीमा विभाजित ढंगले जानु पनि हुँदैन । र हामीले चित्त बुझेन भने नोट अफ डिसेन्ट गर्न पाइन्छ । महाधिवेशनमा जाने कुरामा हामीले नोट अफ डिसेन्ट गर्नुपर्ने अवस्था नआओस भनेर म कामना गर्न चाहन्छु ।’
अर्की केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभाकी सांसद गौतमले मुलुकले जेनजी आन्दोलनपछि सुधारिएको कांग्रेस खोजेको भन्दै महाधिवेशन गरेर मात्रै निर्वाचनमा जान उपयुक्त हुने अडान राखिन् । उनले जनतामा भोट माग्न जान पनि कांग्रेसले महाधिवेशनमार्फत नयाँ नीति र नेतृत्व लिएर जानुपर्ने अवस्था आएको बताइन् । नेतृ गौतमले निर्वाचन पछि महाधिवेशनको कुनै अर्थ नरहेको समेत बताइन् ।
उनले भनिन्– ‘अहिलेको देशको परिस्थिति भदौ २३ र २४ पछिको देशको स्थितिलाई हेरेर हामीले निर्वाचन भन्दा पछाडि महाधिवेशन गरेर जाने कुरा उपयुक्त हुँदैन । यसले समग्रमा कांग्रेसलाई क्षति पुर्याउँछ । कांग्रेस सध्रिएको, सङ्लिएको, कांग्रेसले जनतालाई भोट माग्न जाँदा आश्वस्त, विश्वस्त एउटा भरोसायोग्य हामी ठिक ढंगलबाट आयौँ, हामी सुध्रिएका छौँ । आत्माआलोचना गरेर अघि बढेका छौँ । हामीले धेरै कुराहरु सुधारेर भोट माग्न आएका छौँ । हामीसँग तर्क र जवाफ दुवै छ । हामी तपाईहरुसँग भोट माग्न लायक छौँ भन्ने हिसावले हामी भोट माग्न जानुपर्दछ ।’
निर्वाचनअघि महाधिवेशन गर्नु नै पार्टीको वैधानिक बाटो भएको उल्लेख गर्दै कांग्रेसकी प्रतिनिधिसभाकी निवर्तमान सांसद समेत रहेकी महाधिवेशन प्रतिनिधि सीता मिजारले पार्टीले निर्वाचनअघि नै महाधिवेशन गरेर जाने निर्णय नै वैधानिक बाटो भएकाले यसको विकल्प अरु केही पनि हुन नसक्ने बताइन् । उनले कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको ५५ प्रतिशतले महाधिवेशन पुस मसान्त भित्र गर्नुपर्ने माग गरेको र सोही माग वैधानिक भएकाले त्यसै अनुसार निर्णय गर्न उपयुक्त हुने धारणा राखिन् ।
उनले भनिन्, ‘निर्वाचनमा जानका लागि नयाँ नेतृत्व, नयाँ नीति, नयाँ कमिटीले गर्नुपर्छ भन्ने हो । त्यसैले हामी पछाडि फर्कने भन्ने त कुरै छैन । यसबाट पछाडि फर्कने बाटो पनि छैन । बैधानिक बाटो भनेको निर्वाचन अघि महाधिवेशनको हो । ५५ प्रतिशत भन्दा बढि महाधिवेशन प्रतिनिधिहरुले जुन हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छौँ । त्यो कुरा नेपाली काँग्रेस केन्द्रिय कार्य समितिले वर्न गरोस् भन्ने हामी चाहन्छौँ । यसैलाई अघि बढाएर आम निर्वाचनको वातावरण बनाओस । यसले आम निर्वाचनलाई पनि सहयोग पुग्छ । त्यसकारण निर्वाचन अघि महाधिवेशन हुन्छ भन्ने कुरामा म विश्वस्त छु । विश्वास दिलाउन चाहन्छु ।’
महाधिवेशन प्रतिनिधि मिजारले निर्वाचनको वातावरण बनाउन पनि कांग्रेसले निर्वाचन अघि महाधिवेशनमा जानुपर्ने निर्णयसहित अघि बढ्नुपर्ने बताइन् ।
संस्थापनइतरका नेताहरुले महाधिवेशनलाई छलेर निर्वाचनमा जाने निर्णय गरिए आफूहरु सो निर्णय मान्य पक्षमा नरहेको जिकिर समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया