काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ नारासहित २१ औँ राष्ट्रिय कफी दिवस मनाउन लागेको छ । बोर्डले कफीसँग सम्बद्ध किसान, स्टेट, उद्योग तथा उपभोक्ताहरूको सहभागितामा सोमवार मूल समारोह कीर्तिपुरस्थित समशीतोष्ण बागवानी केन्द्रमा आयोजना गर्न लागेको हो ।
नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहे पनि उत्पादन हुन नसक्दा नेपाली बजारमा नै कफी आयात बढ्दो क्रममा रहेको छ । शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धि भएको हो ।
बोर्डकाअनुसार नेपालको कफी उत्पादन गुणस्तरका आधारमा अन्तर्राष्ट्रिय बजारमा नेपाल कफीको उच्च माग छ । तर उत्पादन वृद्धि नहुँदा नेपालमा नै आयात लगातार बढिरहेको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ सय ४२ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन गरे पनि १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मे.टन कफी आयात गर्नुपरेको बोर्डले जनाएको छ । सोही अवधिमा ११ करोड ४३ लाख रुपैयाँ बराबरको मात्र ६४ मे.टन कफी निर्यात भएको बोर्डले जनाएको छ ।
बोर्डकाअनुसार नेपालमा कफी उत्पादन २०७०/७१ को ४२९ मे.टनबाट २०८१/८२ मा ६४१ दशमलव ९ मे.टन पुगेको छ । तर त्यही अवधिमा कफी आयात झनै तीव्र रूपमा बढेको देखिन्छ । २०८१/८२ मा कफी आयात २३४ मे.टन रहँदा आयात मूल्य १४४ करोड नाघेको छ । निर्यात भने अघिल्लो वर्षको तुलनामा घट्दै ६३ हजार ९९८ किलोमा झरेको छ । अघिल्लो वर्षमा ८८ हजार ८५६ किलो कफी निर्यात भएको थियो ।
बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेकाअनुसार आन्तरिक माग तीव्र रूपमा बढिरहेका बेला किसान संरक्षण र क्षेत्र विस्तारमा तीनै तहका सरकारबिच समन्वय आवश्यक छ । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । देशभित्रै पनि कफीको माग बढ्दै गइरहेकाले आन्तरिक माग पूर्तिका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्न जरुरी रहेको बोर्डका कार्यकारी निर्देशक पाण्डेले बताए । आयातित कफीको नियमनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
बोर्डले कफी उत्पादन वृद्धिको लागी सम्भावित प्रदेशमा चक्लाबन्दीमार्फत कफी क्षेत्र विस्तार, डेमोन्स्ट्रेसन प्लट स्थापना, व्यावसायिक नर्सरी तथा अनुसन्धान प्रवर्द्धनका कार्यक्रम अघि बढाइरहेको जनाएको छ । युवालाई आकर्षित गर्दै कफी स्टेट विकास तथा व्यावसायिक उत्पादन विस्तारलाई प्राथमिकता दिन बोर्डले आगामी वर्षहरूमा युवा लक्षित स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने बताएको छ । ७५औँ बोर्ड बैठकले कफी मूल्य शृङ्खलाका सबै तहको भूमिका स्पष्ट हुने गरी ऐन तथा नीतिको संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
कफीको न्यूनतम मूल्य यथावत्
बोर्डले २०८२ मंसिर १ देखि लागू हुने गरी कच्चा कफीको न्यूनतम मूल्य गत वर्षकै दर कायम गर्दै यथावत् राखेको छ । बोर्डका अनुसार फ्रेस चेरी कफी ग्रेड ए को मूल्यप्रति केजी १०५ रुपैयाँ र ग्रेड बी को ९५ रुपैयाँ तोकिएको छ । पार्चमेन्ट कफीको भने ग्रेड ए को प्रतिकेजी ५३५ रुपैयाँ र ग्रेड बी को प्रतिकेजी ४८२ रुपैयाँ ताकिएको छ । ड्राइ चेरी कफीको ग्रेड ए को प्रतिकेजी २८० र ग्रेड बी को प्रतिकेजी २४७ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया