काठमाडौं । नेकपा एमालेले आज देशभर जनसभा गर्दैछ । प्रतिगामी शक्तिविरुद्ध जनपरिचालन गर्ने अभियान अन्तर्गत देशका धेरै जिल्ला सदरमुकाम र ठुला सहरमा यी सभा आयोजना गर्न लागिएको हो ।
एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा धेरै जनताको सहभागिता सुनिश्चित गर्न पार्टीका केन्द्रीय सदस्यहरू जिल्ला–जिल्लामा खटिएका छन् । उनले भने, ‘सबै जिल्ला इन्चार्जहरू आफ्नै क्षेत्रका कार्यक्रम सम्हालिरहेका छन् । आजका सभाबाट एमाले अझै पनि देशभर लोकप्रिय शक्ति हो भन्ने सन्देश जानेछ ।’
गौतमले जनपरिचालन कार्यक्रम चार चरणमा चलिरहेको बताए । पहिलो चरणमा कात्तिक २२ गते देशभर वडा–वडा भेला भएको थियो । दोस्रो चरणमा कात्तिक २५ गते धेरै स्थानीय तहमा र्याली र प्रदर्शन गरिएको छ । तेस्रो चरण अन्तर्गत आज विभिन्न जिल्लामा जनसभा हुँदैछन् । अन्तिम चरण मंसिर ६ गते काठमाडौंमा हुने विशाल सभासँगै अभियान सकिने गौतमले जानकारी दिए ।
आज हुने सभाहरूमा एमालेका शीर्ष नेताहरू विभिन्न स्थानमा जाने कार्यक्रम छ । महासचिव शंकर पोखरेल नेपालगन्जमा, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीमा र उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लमजुङमा जनसभालाई सम्बोधन गर्नेछन् ।
त्यसैगरी, सचिव छविलाल विश्वकर्मा रुपन्देहीमा, सचिव पद्मा अर्याल झापाको बिर्तामोडमा, र कोशी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य हिकमत कार्की धनकुटामा हुने सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया