रास्वपा छाडेका सन्तोष परियारले मानुषी यमी भट्टराई र सुदन किराँतीसहितलाई समेटेर नयाँ दल गठन गर्ने

लोकपथ
2.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका नेता सन्तोष परियारले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईपुत्री मानुषी यमी भट्टराई र पूर्व माओवादी नेता सुदन किराँती लगायतसँग मिलेर नयाँ पार्टी गठन गर्ने भएका छन् । नयाँ पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी वा प्रगतिशील नागरिक पार्टीलगायत विकल्पमा छलफल भइरहेको बताइएको छ । 

परियारले भने, ‘अब नयाँ पार्टी बनाउँछौँ । मानुषी यमी भट्टराई, सुदन किराँती लगायतका साथीहरू भएर पार्टी बनाउँछौँ । वक्तव्य जारीको तयारी गर्दैछौँ ।’

उनका अनुसार, नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा समेत पत्र गइसकेको छ । 

परियारले शुक्रबार (आजै) रास्वपाको सचिवालय सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । उनले ‘फरक खालको राजनीतिक अभियान’मा सक्रिय हुन राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । 

परियारले राजीनामा पत्रमा भनेका छन्, ‘बदलिँदो परिस्थितिलाई आत्मसात् गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्रहित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कात्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु ।’

उनले गत भदौ २३ र २४ गते भएको ’जेनजी विद्रोह’ले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको टिप्पणी गर्दै राजीनामापत्रमा लेखेका छन्, ‘यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ । जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाइ हो ।’

परियारले पार्टीमा रहँदा निरन्तर विचारको बहस गरे पनि त्यसलाई स्थापित गर्न नसक्नुलाई आफ्नो कमजोरीको रूपमा लिएको बताएका छन् । 

राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई बुझाएका हुन् ।

पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तनको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको मागसमेत राखेका थिए ।

यसअघि निवर्तमान प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले पनि रास्वपा छाडेकी थिइन् । उनले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् । रास्वपा छोडेको जानकारी दिँदै श्रेष्ठले भनेकी थिइन्, ‘अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?