सचिवालय सदस्य एवं पूर्वसांसद सन्तोष परियारले पनि छाडे रास्वपा

लोकपथ
1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य सन्तोष परियारले रास्वपा छाडेका छन् । 

उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।

विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतकसमेत रहेका  परियारले आज शुक्रबार टेलिफोन सम्पर्कमा भने, ‘मैले रास्वपा छाडेँ, अब नयाँ अभियान सञ्चालन गर्छु, आजै प्रेस विज्ञप्ति निकालेर थप जानकारी दिँदैछु ।’ 

पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तनको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको मागसमेत राखेका थिए ।

यसअघि निवर्तमान प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले पनि रास्वपा छाडेकी थिइन् । उनले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् । रास्वपा छोडेको जानकारी दिँदै श्रेष्ठले भनेकी थिइन्, ‘अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?