जेनजी आन्दोलनका क्षतिको एकीकृत विवरण तयार गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

लोकपथ
49
Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार गर्न निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसी) र मातहतका निकायहरूको आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले आन्दोलनको समयमा सार्वजनिक संरचना र सम्पत्तिमा भएको क्षतिको विवरण अद्यावधिक गरी एकीकृत प्रतिवेदन तयार पार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जिम्मेवारी दिइन् ।

उनले हालसम्मको खर्च प्रतिशत सन्तोषजनक नदेखिएको भन्दै बाँकी अवधिमा सबै निकायका प्रमुखले आफ्ना जिम्मेवारी प्राथमिकताका साथ पूरा गर्न निर्देशन दिइन् । ‘जेनजी आन्दोलनको भावना र मर्म बमोजिम सेवाग्राहीमैत्री सेवा प्रवाह गर्दै चालु आर्थिक वर्षका लक्ष्यहरू समयमै पूरा गर्नुपर्ने अवस्था देखिएको छ, ‘प्रधानमन्त्री कार्कीले भनिन् ।

बैठकमा उनले तोडफोड र आगजनीका कारण विकास गतिविधि प्रभावित भएको बताउँदै पुनःस्थापनाका कार्यहरूलाई तीव्रता दिन आग्रह गरिन् । साथै, विद्युतीय खरिद प्रणालीको सर्भर स्तरोन्नति, फाइनान्सियल एक्शन टास्क फोर्सको ग्रे लिष्टबाट नेपाललाई बाहिर निकाल्ने प्रयास, र सुशासन तथा पारदर्शिता कायम गर्न अनुगमन बढाउनसमेत निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि सरकार प्रतिबद्ध रहेको पुनः पुष्टि गर्दै राष्ट्रसेवक कर्मचारीहरूलाई तोकिएका लक्ष्यहरू निर्धारित समयमा पूरा गर्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?