पूर्वप्रधानमन्त्री हसिनाको मानवता विरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने

लोकपथ
70
Shares

ढाका । बंगलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्बर १७ (आगामी मंसिर १ गते) मा सुनाउने भएका छन् । मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार पत्रकारहरूलाई जानकारी गराउँदै अदालतले उक्त मितिमा अन्तिम निर्णय सुनाउने तयारी गरेको बताए । 

७८ वर्षीया शेख हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलनलाई दबाउने क्रममा घातक दमन गर्ने आदेश दिएको आरोप लागेको छ । उनले भारतमा रहेर अदालतको उपस्थितिका लागि गरिएको आदेशको पालना गर्न अस्वीकार गरेकी छिन् । 

‘कानुनअनुसार न्याय हुनेछ,’ अभियोजक इस्लामले भने, ‘हामी लामो यात्रापछि अन्तिम चरणमा पुगेका छौँ, अदालतले १७ तारिखमा फैसला सुनाउनेछ ।’

गत जुन १ देखि अनुपस्थित अवस्थामा सुरु गरिएको मुद्दामा अदालतले हसिनामाथि सामूहिक हत्या गर्ने आदेश दिएको आरोपमा विस्तृत गवाही सुनेको थियो । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सन् २०२४ को जुलाईदेखि अगस्टसम्म उनी सत्तामा रहँदा भएको विद्रोहका क्रममा करिब एक हजार ४ सय जनाको ज्यान गएको थियो ।

अभियोजन पक्षले हत्या रोक्न असफल हुनु, सामूहिक हिंसामा संलग्नता र मानवताविरुद्धका अपराधलगायत पाँचवटा मुख्य आरोप दर्ता गरेको छ । यदि दोषी ठहर भइन् भने हसिनालाई मृत्युदण्डको सजाय माग गरिएको छ ।

‘हामीलाई विश्वास छ कि सम्माननीय अदालतले आफ्नो विवेकका साथ न्यायपूर्ण फैसला गर्नेछ,’ इस्लामले भने, ‘यो निर्णयले न्यायको प्यास मेट्नेछ र मानवताविरुद्धका अपराधहरू अन्त्यतर्फको ऐतिहासिक कदम हुनेछ ।’

पूर्वप्रधानमन्त्री हसिनाले भने सबै आरोप अस्वीकार गर्दै आफ्नाविरुद्धको मुद्दालाई ‘राजनीतिक प्रतिशोधको नाटक’ र ‘न्यायको अपमान’ को संज्ञा दिएकी छिन् ।

उनका सह–अभियुक्तहरूमा पूर्व गृहमन्त्री असदुज्जमान खान कमल र पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्ला अल–मामुन रहेका छन् । कमल हाल फरार छन् भने ममुन अहिले हिरासतमा रहँदै दोषी ठहर भएका छन् । 

फेब्रुअरीमा तय भएको आमनिर्वाचन नजिकिँदै जाँदा बंगलादेशमा राजनीतिक तनाव तीव्र बनेको छ । हसिनाको प्रतिबन्धित अवामी लिग पार्टीले बिहीबार देशव्यापी ‘लकडाउन’ को आह्वान गरेको थियो । अदालत परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ, जसअन्तर्गत बख्तरबन्द सवारीसाधन र चेकपोइन्टहरू स्थापना गरिएको छ ।

यसैबीच, अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसको सरकारसँग सम्बन्धित भवनहरूदेखि बस र इसाई धार्मिक स्थलहरूसम्म कच्चा बम र पेट्रोल बम फ्याँकिएका घटनाहरू ढाकाभरि बढेका छन् । नोभेम्बर ११ मा पार्क गरिएको बसमा आगजनी हुँदा एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

यस घटनाक्रमबीच बंगलादेशको विदेश मन्त्रालयले बुधबार ढाकास्थित भारतका राजदूतलाई बोलाएर भारतले हसिनालाई पत्रकारहरूसँग संवाद गर्न नदिन आग्रह गरेको छ ।

‘यस्तो कुख्यात भगौडालाई शरण दिनु र उहाँलाई घृणा फैलाउने मञ्च प्रदान गर्नु दुई देशबीचको मैत्रीपूर्ण रचनात्मक सम्बन्धका लागि असहज कार्य हो,’ बंगलादेशको सरकारी समाचार एजेन्सी बिएसएसले विदेश मन्त्रालयको भनाइ उद्धृत गर्दै जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?