काठमाडौं । पाल्पाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी चोरी-पैठारीमार्फत ल्याइएका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुई फरक-फरक स्थानबाट गरी करिब एक लाख ३३ हजार ६०० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीका अनुसार रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिकाका विभिन्न वडामा खटिएको प्रहरी टोलीले अवैध सामान नियन्त्रणमा लिएको हो । बरामद सामग्रीमा ३४३ थान लेडिज सल (मूल्य ५१ हजार ४५०), ४१ थान लेडिज कुर्था सुरुवाल (२४ हजार ६००), बच्चा कपडा सेट (१८ हजार ८००) र ‘विज्ली’ लेखिएको सुर्ती प्याकेट (३८ हजार ७५०) रहेको प्रहरीले जनाएको छ ।
उक्त सामानका बिल-भौचर नहुँदा प्रहरीले ती सामग्री नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाएको हो ।
प्रहरीका अनुसार पछिल्लो समय पाल्पा क्षेत्रमा यसरी भन्सार छली गरी सामान ओसारपसार गर्ने क्रम बढ्दो छ, जसको प्रत्यक्ष असर सरकारको राजस्व संकलनमा परेको छ । सीमाक्षेत्रमा सीमित रहेका यस्ता गतिविधि अहिले पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु र नवलपरासीसम्म विस्तार भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया