ग्लोबल आइसिटी लिडरसिप फोरम नेपालका लागि उपलब्धिमूलक : मन्त्री खरेल

लोकपथ
14
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गणतन्त्र कोरियाको सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिपूर्ण र फलदायी भएको बताएका छन् ।

बुधबार फोरमलाई सम्बोधन गर्दै मन्त्री खरेलले डिजिटल नेपाल र डिजिटल ट्रान्सफर्मेसनका लागि यो फोरम महत्त्वपूर्ण उपलब्धिको रूपमा रहेको उल्लेख गरे । उनले भने, ‘डिजिटल लिडरसिप फोरम अत्यन्तै सफल र फलदायी भएको छ, यसले एआईमैत्री नेपाल निर्माणमा सहयोग पुर्‍याउनेछ ।’

मन्त्री खरेलका अनुसार नेपालले डिजिटल र एआई ट्रान्सफर्मेसनका सन्दर्भमा नीति निर्माण गरी संरचनागत रूपमा कार्य अघि बढाइसकेको छ । उनले राष्ट्रिय एआई नीति तयार भइसकेको, राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको र एआई काउन्सिल गठनको प्रक्रिया सुरु भइसकेको जानकारी दिए । साथै डिजिटल नेपालको रोडम्यापको मस्यौदा पनि तयार गरिएको बताए ।

उनले कोरियन सरकार, विश्व बैंकलगायतका साझेदार संस्थासँग डिजिटल र एआई ट्रान्सफर्मेसनका क्षेत्रमा सहकार्य र साझेदारीका प्रस्ताव राखिएको बताए । कोरियन सरकार तथा विश्व बैंकले पनि नेपालसँग साझेदारीका साथ अघि बढ्ने सहमति जनाएको उनले उल्लेख गरे ।

मन्त्री खरेलले भने, “डिजिटल र एआई क्षेत्रमा साझेदारीले आर्थिक क्षमता अभिवृद्धि, ज्ञान आदानप्रदान, र एक्सपोजर भिजिटजस्ता अवसर सृजना गर्नेछ ।”

समूहगत छलफलका क्रममा मन्त्री खरेलले नेपालको प्राथमिकता, सहकार्य र साझेदारीका सम्भावनाबारे धारणा राखेका थिए । त्यस क्रममा कोरिया सरकार र त्यहाँको नेशनल इनफर्मेशन सोसाइटी एजेन्सीसँग पनि आपसी सहकार्यबारे परामर्श भएको उनले बताए ।

फोरममा दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् । सञ्चारमन्त्री खरेल मंगलबार कोरिया पुगेका हुन् । कोरियाको विज्ञान र आइसिटी मन्त्रालयको संयुक्त आयोजनामा सिओलमा फोरम सम्पन्न भएको हो ।

फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटेजी एन्ड च्यालेन्ज’ र ‘ग्लोबल कोअपरेशन फर सस्टेनेबल डिजिटल फ्युचर’ शीर्षकका दुई सत्र सञ्चालन भएका थिए । सो अवसरमा विभिन्न देशका मन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, सरकारी प्रतिनिधि तथा संयुक्त राष्ट्रसंघका विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

मन्त्री खरेल यही कार्तिक २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?