काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र विशेष महाधिवेशनको मागलाई लिएर द्वन्द्व बढाउने होइन, सहमतिको माध्यमबाट समाधान खोज्नुपर्ने बताएका छन् ।
बुधबार जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै डा.कोइरालाले विशेष महाधिवेशनमा अहिले जाने अवस्था नभएको बताए ।
उनले भने, ‘महाधिवेशन माग गर्ने साथीहरूको भावना पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत निर्णयमा पुग्नुपर्छ ।’
उनले पार्टी र देश दुवै अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै सहिष्णुता र सहअस्तित्वका साथ विवाद व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । ‘वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति नै आजको आवश्यकता हो,‘उनले भने ।
डा.कोइरालाले आउँदो फागुन २१ गते हुने आम निर्वाचनमा कांग्रेस सहभागी हुनुपर्ने स्पष्ट पारे । उनका अनुसार मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अघि बढाउन आम निर्वाचन नै एक मात्र विकल्प हो । उनले भने, ‘सरकारले निर्वाचनका लागि भयरहित वातावरण बनाउनुपर्छ, लुटिएका हतियार फिर्ता गराउनुपर्छ र जेलबाट भागेका कैदीलाई नियन्त्रणमा लिनुपर्छ ।’
उनले हालको संविधानलाई आधार बनाएर आवश्यक संशोधन गर्न सकिने बताए । ‘जेनजी आन्दोलनपछि सरकार मात्रै बदलियो, संविधान यथावत छ,‘ उनले भने, ‘फागुन २१ को निर्वाचनबाट बन्ने संसदले आवश्यक संशोधन गरेर जायज माग सम्बोधन गर्न सक्छ ।’
डा.कोइरालाले सरकारको कार्यक्षमता बढाउने, रोजगारीका अवसर सृजना गर्ने र दुई छिमेकी राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्ने विषयमा कांग्रेसले नेतृत्व लिनुपर्ने पनि बताए ।
भदौ २३ र २४ गतेका घटनाबारे उनले गम्भीर प्रश्न उठाउँदै भने, ‘०६२र६३ को आन्दोलनमा लोकतान्त्रिक अधिकारका लागि रगत बगाउनु नपर्ने भनेर हामी अघि बढ्यौँ, तर अहिले फेरि रक्तपात किन भयो ?’ उनले सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवास, बिराटनगरस्थित कृष्णप्रसाद कोइरालाको घर, गणेशमान सिंहको निवास र किसुनजीको आश्रममा भएको आक्रमणलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।
देउवा दम्पतीमाथि भएको आक्रमणप्रति उनले दुःख व्यक्त गर्दै भने, ‘यो अमानवीय र निन्दनीय घटना हो । सरकारले निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया