राष्ट्रिय शक्ति सुदृढ पार्दै परिवर्तनको यात्रामा अघि बढाउँछौँ : भीम रावल

लोकपथ
98
Shares

काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले राजनीतिक र सामाजिक रुपान्तरणको यात्रालाई सशक्त बनाउन बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार नेपाली कम्युनिष्ट पार्टीसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नेता रावलले विगतमा नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरूले विभाजन गरेर आफ्नो निहित स्वार्थ पूरा गरेको आरोप लगाए । उनले कम्युनिष्ट आन्दोलनलाई विशृङ्खलित पारेर पार्टी अलग भएका अनुभव सम्झँदै आज फेरि पार्टीमा समाहित भएको बताए ।

रावलले भने, ‘हामीले एउटा बलियो राष्ट्रिय शक्ति निर्माण गरेर हाम्रो राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने अभियानका साथ लाग्नुपर्छ। आगामी दिनमा हामी सकारात्मक, भावनात्मक एकता र संकल्पका साथ आफ्नो लक्ष्यमा पुग्ने विश्वस्त छौँ ।’

उनले आगामी दिनमा पार्टीभित्र एकता र साझा लक्ष्यको माध्यमबाट नेपालमा स्थायी सामाजिक र राजनीतिक परिवर्तनको सुनिश्चितता गर्ने दाबी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?