काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औँ वार्षिकोत्सवको अवसरमा दिन गरिमा रोड रेसको दोस्रो संस्करण गरिमा रोड रेस, २०८२ आयोजना हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ मिति २०८२ मंसिर ६ गते, शनिबारका दिन गरिमा रोड रेसको दोस्रो संस्करण गरिमा रोड रेस, २०८२ आयोजना गर्न लागेको हो ।
गत वर्षदेखि सुरु गरिएको यो दौड प्रतियोगिताको दोस्रो संस्करणमा यस वर्ष खुला, कर्पोरेट र भेट्रान गरी तीनवटा विधा समावेश गरिएको छ । खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट र भेट्रान (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर दूरीको दौड हुनेछ ।
गत वर्ष खुला र कर्पोरेट विधा मात्र रहेकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष माथिका प्रतियोगीहरूलाई सहभागी गराउने उद्देश्यले भेट्रान विधा थपिएको बैंकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा करिब १,००० जना धावक सहभागी हुने अपेक्षा गरिएको छ । विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ
खुला समूह (महिला/पुरुष): पहिलो स्थानका लागि रु.५०,०००, दोस्रोका लागि रु.३५,०००, तेस्रोका लागि रु.२०,०००, चौथोका लागि रु.१५,००० र पाँचौँ स्थानका लागि रु.१०,०००।
कर्पोरेट र भेट्रान समूह (महिला/पुरुष): पहिलो स्थानका लागि रु.३०,०००, दोस्रोका लागि रु.२०,०००, तेस्रोका लागि रु.१४,०००, चौथोका लागि रु.१०,००० र पाँचौँ स्थानका लागि रु.७,०००।
रोड रेसको खुला समूहको दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालयबाट सुरु भई बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ कार्यालय पुगेर पुनः सोही बाटो हुँदै बालुवाटारमा समापन हुनेछ।
त्यसैगरी, कर्पोरेट र भेट्रान समूहको दौड बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर सोही बाटो फर्किनेछ।
प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकहरूले कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत रु.२० शुल्क तिरी रजिस्ट्रेशन गर्न सक्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया