काठमाडौं । ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी काठमाडौं उपत्यकामा सवारी चलाउने चालकमाथिको कारबाही तीव्र पारेको छ । सोही सिलसिलामा पछिल्लो पटक ६ जनालाई नियन्त्रणमा लिइएकोमा आज बुधबार सार्वजनिक गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार काठमाडौंको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
नियन्त्रणमा लिइएकाहरूमा पठाओ मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–६ का ३९ वर्षीय शेखरनाथ घिमिरे, बाराको पचरौता नगरपालिका–६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोटको बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ का ४७ वर्षीय सुरजकुमार बजगाईँ, भाडाबस चालक मकवानपुरको थाहा नगरपालिका–४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक सल्यानका २२ वर्षीय भीमबहादुर खड्का छन् ।
नियन्त्रणमा लिएकाहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी मादक पदार्थ र लागूपदार्थलगायतका जाँचमा सधैँ सक्रिय रूपमा खटिएको र नशालु पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘सार्वजनिक सवारीसाधन चलाउने चालकले धेरै व्यक्ति बोकेका हुन्छन्, मापसे, लापसे गरी सावरी चलाए धेरैको ज्यान जोखिममा हुन्छ । उक्त कार्य नगर्न हामी आग्रह गर्दछौँ, अवज्ञा गरे कानुन बमोजिम कारबाही हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया