सशस्त्र प्रहरीद्वारा झन्डै १ करोड रुपैयाँको मोबाइल पार्ट्ससहित दुई जना पक्राउ

लोकपथ
924
Shares

काठमाडौं । सशस्त्र प्रहरीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी इलाकाबाट मंगलबार (कात्तिक २५)  ९५ लाख ५ सय ५० रुपैयाँबराबरको मोबाइल पार्ट्ससहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिइएकाहरूमा सोही उपमहानगरपालिका–१९ खेदा बस्ने ३३ वर्षीय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एन्ड सप्लायर्सका सञ्चालक भारत घर बताउने २५ वर्षीय आशुतोषकुमार गुप्ता छन् । 

निज चौधरीले सुदूरपश्चिम प्रदेश ०१–००८ प ५१३२ नम्बरको मोटसाईकलमा राखी भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ८ हजार रुपैयाँबराबरको मोबाइलका पाट्र्ससहित उनलाई सुदूरपश्चिम प्रदेश एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका चौधरीले भारतबाट अवैध रूपले ल्याएको मोबाइलका पार्ट्स सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एन्ड सप्लायर्समा दिने गरेको बताएका थिए । त्यसपश्चात् प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले स्टोरमा छापा मारेर बिलबिजक नभएको ८४ लाख ४२ हजार ५ सय ५० रुपैयाँबराबरको मोबाइल पार्ट्ससहित सप्लायर्सका सञ्चालक गुप्तालाई समेत नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद सामान तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?