हयात रिजेन्सी होटल तत्काल सञ्चालनमा नआउने, मंसिर २२ गतेदेखि सबै श्रमिकलाई बिदा दिने सूचना जारी

लोकपथ
819
Shares

काठमाडौं । जेनजी आन्दोलनमा तोडफोडपछि बन्द रहेको हयात रिजेन्सी होटलले होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई ‘बर्खास्त’ गरेको छ । होटल कर्मचारीले यथाशक्य चाँडो होटल सञ्चालनमा ल्याउनु पर्ने माग अघि सारिरहेका बेला व्यवस्थापन पक्षले होटलमा कार्यरत सबै मजदुरलाई बिदा गरेको हो ।

होटलका महाप्रबन्धक आशीष कुमारले मंगलबार मानव संशाधन विभागलाई लेखेको पत्रमा हाल होटल बन्द भएको, मर्मत सम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी र मजदुरलाई मंसिर २२ गतेदेखि लागू हुनेगरी बिदा दिन निर्देशन दिइएको उल्लेख छ । 

उनले प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएको जानकारी दिँदै सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात् मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गरिएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेको आन्दोलनक्रममा होटलमा आपराधिक समूह प्रवेश गरी तोडफोड, लुटपाट र आगलागीजन्य क्रियाकलाप गरेका कारण होटल पूर्णरुपमा बन्द छ, आगलागी र तोडफोडका कारण होटल क्षतिग्रस्त भई पूर्णरूपले मर्मत सम्भार नगरी सञ्चालनमा ल्याउन सक्ने अवस्था समेत छैन, होटलमा भएका एकजना विदेशी पाहुनाले आगलागीको कारण बाहिर आउन नसकी ज्यान बचाउन होटलको ४ तलाबाट हाम फाल्दा घाइते भई उपचारको क्रममा ज्यान गएको तथा होटलमा आवास सुविधा लिएका अन्य विदेशी अतिथिको लगेज तथा सरसामान समेत आपराधिक समूहले लुटपाट तथा आगो लगाएको घटनाले अन्तर्राष्ट्रिय जगतमै होटलको ख्यातिमा नकारात्मक प्रभाव परेको छ । कोभिड १९ का कारण लामो समय होटल तथा पर्यटन क्षेत्र बन्द भई ठूलो आर्थिक क्षति हुँदा भदौ २४ गतेको घटनाका कारण पुनः होटललाई ठूलो आर्थिक क्षति भएको र मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने तथा मर्मत अवधिभर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले होटल थप ठूलो आर्थिक चुनौती भोगिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?