कडरियाको सक्रियतापछि अनेरास्ववियुमा चर्कियो विवाद, महासचिवले गरे विरोध

लोकपथ
1.3k
Shares

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुमा विवाद चर्किएको छ ।

जेनजी आन्दोलनपछि नैतिकताका आधारमा राजीनामा दिइ पछि पुनः राजीनामा फिर्ता लिएर अध्यक्ष डा. सुजन कडरिया सक्रिय हुन थालेपछि विवाद चर्किएको हो ।

जेनजी आन्दोलनपछि भदौ २४ गते कडरियाले राजीनामा दिएका थिए । तर पछि पुनः आफूमाथि धम्की दिइएको र राजीनामा दिन बाध्य भएको भन्दै पुनः राजीनामा फिर्ता गरेको घोषणा गरेका थिए । तर पछिल्ला दिनहरुमा कडरिया संगठनको काममा फर्किएको भन्दै विवाद चर्किएको हो ।

अनेरास्ववियुका महासचिव दिपक धामीले विज्ञप्ति नै जारी गरेर कडरियाको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् । साथै उनले राजीनामा दिएर गैसकेको व्यक्तिले संगठनको आधिकारिक लेटरप्याड दुरुपयोग गरेको भन्दै त्यस्तो गतिविधि नगर्न समेत चेतावनी दिएका छन् ।

‘केही दिनदेखि अनेरास्ववियुको आधिकारिक फेसबुक फेज तथा संगठनको लेटरप्याड समेत दुरुपयोग हुँदै आएका घटनाप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । जनेजी आन्दोलनपश्चात देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक नेतृत्व गर्नुपर्ने बेला संगठनलाई ध्वस्त पार्ने नियतका साथ कायरतापूर्वक राजीनामा दिइ अध्यक्ष परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गरेको गैरजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतप्रति अनेरास्ववियु घोर भत्सर्ना गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

जेनजी आन्दोलनपछि केही समय निस्कृय बनेका कडरिया सोमबार एमालेको ‘घर फर्क अभियान’ पछि पुनः संगठनको काममा फर्किएका थिए । उनीमाथि अनेरास्ववियुकै नेताहरुले आलोचना गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?