रविन्द्रसँगको भेटमा रविले भने– ‘म यहाँ आनन्दमा छु, पीडा पुराना दललाई छ’

लोकपथ
210
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटघाट भएको छ ।

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई भेट्न दिउँसो मिश्र कारागार पुगेका थिए ।

आफूहरुबिच करिब डेढ घण्टा भेट भएको मिश्रले सामाजिक सञ्जालमा बताएका छन् । उनले लामो समय हिरासतमा रहँदा रविमा उर्जा, आत्मविश्वास र दृढता देखेर आफू खुसी भएको बताए । भेटका क्रममा रविले पुराना दलका नेताहरुसँग आफू लड्ने प्रतिबद्धता व्यक्त गरेको लामिछानेले बताएको मिश्रले बताएका छन् ।

मिश्रले सामाजिक सञ्जालमा भनेका छन्, ‘आजको भेटमा रविको उर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुशी भएँ । उनले भने, ‘म यिनीहरूसँग लड्ने नै हो, दाइ । म त यहाँ आनन्दमा छु । पीडामा त यिनीहरू छन् नि ! हाम्रो राजनीतिक बाटो फरक होला तर मेरो धेरैधेरै शुभकामना छ, रवि, तिमीलाई !’

मिश्रले रविको मुद्दालाई यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिशोधपूर्ण ढंगले अघि बढाएको समेत बताए ।

वर्तमान सरकारले रविमाथि यसअघिको सरकारले जस्तो कुनै प्रतिशोध नसाध्ने विश्वास रहेको उनले बताएका छन् ।

‘धेरै अघि नै मैले भनिसकेको थिएँ, रविको केसलाई तात्कालिन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णतः प्रतिशोधबाट प्रेरित थियो । वर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु,’ उनले भनेका छन् ।

आफूहरु एकै स्थानमा हुर्किएको बताउँदै व्यक्तिगत भेटघाटमा आत्मीय सम्बन्ध रहेको र आफूले ‘तिमी’ सम्बोधन गरेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?