कांग्रेसमा लान्छाना लगाउने क्रम बढ्यो : डा. प्रकाशशरण महत

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने र आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति आत्मघाति भएको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए । महतले भने, ‘पार्टीभित्रबाट सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नै साथीभाइलाई होच्याउने र नियोजित रूपमा प्रयोग गर्ने प्रवृत्ति आत्मघाति हो। यो प्रवृत्ति रोकिनुपर्छ ।’

उनका अनुसार जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने विषयमा नेताहरूबिच एकमत भए पनि सहमति अझै टुंगोमा पुग्न सकेको छैन । उनले बैठकमा राष्ट्रिय निर्वाचनको संघारमा पार्टीको आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त हुन्छ भन्ने विषयमा गम्भीर छलफल भइरहेको बताए ।

‘महाधिवेशन गर्नुपर्छ भन्नेमा कुनै विमति छैन,‘उनले भने, ‘तर राष्ट्रिय निर्वाचन नजिकिँदै गर्दा त्यसअघि आन्तरिक निर्वाचन गर्नु उपयुक्त हुन्छ कि हुँदैन र त्यसको तयारी यथेष्ट छ कि छैन भन्नेमा छलफल केन्द्रित छ ।’

महतले बैठकको अन्त्यसम्म पार्टी महाधिवेशनबारे स्पष्ट र आधिकारिक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले थपे, ‘सरकारले निर्वाचनको वातावरण बनाएको अवस्थामा कांग्रेस त्यसमा सहभागी हुनेछ। यदि त्यो सम्भव नभए संसद् पुनः स्थापनाको मागलाई दह्रो रूपमा उठाउने विषयमा पनि पार्टीभित्र एकमत छ ।’

हाल कांग्रेसभित्र आगामी निर्वाचनअघि महाधिवेशन गर्न सकिँदैन भन्ने संस्थापन पक्षको अडान र नयाँ नेतृत्व लिएर मात्रै चुनावमा जानुपर्ने दुई महामन्त्रीसहित संस्थापनइतर समूहबिच मतभेद देखिँदा आन्तरिक टकराव चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?