मधेस प्रदेशको घटनाले संघीयतामाथि प्रहार भयो : प्रदीप पौडेल

लोकपथ
154
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटेलमा शपथ ग्रहण गराइएको घटनालाई संघीयतामाथिको प्रहारको रूपमा टिप्पणी गरेका छन् ।

मंगलबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पौडेलले राज्यका अंगहरूले प्रचलित संविधान र पद्धतिअनुसार काम गर्नुपर्ने बताएका हुन् । उनले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय मर्यादा र प्रक्रिया उल्लङ्घन गरेको आरोप पनि लगाए ।

‘राज्य प्रणालीका आफ्नै मर्यादा हुन्छन्, जिम्मेवार अधिकारीले ती मर्यादाको पालना गर्नैपर्छ,’ पौडेलले भने, ‘मधेस प्रदेशमा देखिएको कार्यले संघीय अभ्यासमाथि नै प्रश्न उठाएको छ ।’

उनका अनुसार, प्रदेश प्रमुखको व्यवहारले संस्थागत प्रणाली र संवैधानिक मर्यादाको सम्मान नगरेको स्पष्ट संकेत दिएको छ । उनले थपे, ‘कुनै दलको व्यक्ति सार्वजनिक पदमा पुगेपछि दलभन्दा माथि उठेर संविधान र मर्यादाको पक्षमा काम गर्नुपर्छ । मधेसमा भएको पछिल्लो घटनाले त्यसको उल्टो देखाएको छ, जुन संघीयतामाथिको प्रहार हो ।’

तत्कालीन प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादवलाई बर्दिवासस्थित एक होटेलमा शपथ ग्रहण गराएकी थिइन् । पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले उनलाई पदमुक्त  गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?