नेपाली कम्युनिष्ट पार्टीलाई ओलीले दिए ‘जेष्ठ नागरिक आश्रम’ को संज्ञा

लोकपथ
469
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई जेष्ठ नागरिक आश्रमको संज्ञा दिएका छन् ।

पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ को शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपाली कम्युनिष्ट पार्टीप्रति कटाक्ष गरेका हुन् ।

उनले उक्त पार्टीमा केही व्यक्तिहरु जोड्न बाँकी रहेको टिप्पणी गरे । उनले नाम नतोकी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र मसालका महासचिव मोहनविक्रम सिंहलाई जोड्न बाँकी रहेको टिप्पणी गरे ।

‘जेष्ठ नागरिक आश्रम खोलेर कोही कोही बस्दै हुनुहुन्छ । जेष्ठ नागरिक आश्रममा अब एक दुई जना समेट्न बाँकी छ । एक दुई जना कोही बागलुङबाट कोही प्युठानबाट समेट्नु भयो भने कोर्ष पुरा हुन्छ उहाँहरुको,’ ओलीको टिप्पणी थियो ।

त्यस्तै एमाले सक्रिय मान्छेहरु भएको पार्टी रहेको बताउँदै ओलीले पार्टीका जेष्ठ सदस्य मध्येका एक श्यामसुन्दर शेर्पाको प्रशंसा गरे । शेर्पा आफूहरु सानै छँदा मास्टर्स पास गरेको दाबी गर्दै अझै आन्दोलन, संगठन निर्माण र पार्टीको एजेण्डा स्थापित गर्न लागिपरेको बताए ।

‘काम गर्ने जति एमालेमा, मैले उमेरको कुरा गर्‍या होइन । श्यामसुन्दर शेर्पा यही कार्यक्रममा उपस्थित हुनुहुन्छ । उहाँ पाको मान्छे हुनुहुन्छ, तर सक्रिय हुनुहुन्छ, तन्दुरुस्त हुनुहुन्छ त्यही भएर त यो कार्यक्रममा उपस्थित हुनुहुन्छ,’ उनले भने, ‘आन्दोलनदेखि संगठन निर्माणमा सरिक हुनुहुन्छ । समृद्ध नेपाली, सुखी नेपाल बनाइ छाड्ने भन्दै साकार पार्ने भन्दै हुनुहुन्छ । उमेरले बुढो हुँदैन भन्ने कुराको उदाहरण, श्याम सुन्दर शेर्पा । हामी सानै छँदा मास्टर्स पास गर्‍या मान्छे ।’

ओलीले मातृभूमी राष्ट्रिय अभियानलाई नेपाली कम्युनिष्ट पार्टीमा सामेल गराउन लागेका डा. भीम रावलप्रति कटाक्ष गरे । उनले रावलको नाम नलिइ पार्टीमा छैठौँ वरियता पाएपछि मरिहत्य गरेको टिप्पणी गरे ।

‘कोही कोही छैठौँ नम्बर पाएपछि कुदिहाल्दा रहेछन् । ६ नम्बर,’ ओलीले भने ।

ओलीले एमालेलाई राष्ट्रिय शक्तिबाट निर्णायक राष्ट्रिय शक्तिमा परिणत गर्न आफूहरु लागि परेको बताए ।
साथै ओलीले आजै एमालेमा फर्किएका रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु केही पाउने आशाले नभइ आफूहरुको आह्वानलाई सम्मान गर्दै फर्किएको दाबी गरे ।

साथै आगामी दिनमा पार्टीले उचित जिम्मेवारी दिएर फर्किएका नेताहरुलाई अघि बढाउने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?