काठमाडौं । आफ्नो मुलघर नेकपा एमालेमा फर्किएकी रामकुमारी झाँक्रीले जेनजीहरुलाई पनि पार्टीमा आउन आग्रह गरेकी छन् ।
सोमबार राष्ट्रिय सभागृहमा एमालेमा फर्किएपछि कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले सो कुरा बताएकी हुन् ।
उनले जेनजी आन्दोलनपछि जेनजीकै नाममा विभिन्न पार्टीहरु बनाएको तर त्यसको भविष्य सुनिश्चित हुने नहुने अनिश्चित रहेको भन्दै एमालेमा आउन आग्रह गरेकी हुन् ।
झाँक्रीले जेनजीहरुलाई प्रवेशका लागि एमालेका चार वटै ढोका खुला गरेको टिप्पणी समेत गरेकी छन् ।
‘जेनजी साथीहरु तपाईँहरु के गर्नुहुन्छ ? आफ्नै पार्टी बनाउनुहुन्छ, ठिकै छ, हाम्रो शुभकामना छ । कति वटा पार्टी ? धेरै वटा पार्टी बनाउनुहुन्छ भने हाम्रो शुभकामना छ । तर तपाईँ पार्टी बनाउँदै हुनुहुन्न भने पार्टी त हाजिर छ नि ! हामी जस्तै, तपाईँहरुलाई त घर फर्किन परेन, एमालेमा आउनुस् । हर जेनजी साथीहरुलाई प्रवेशका लागि चारै वटा ढोका खुला गरेको मैले महसुस गरेको छु,’ उनले भनिन् ।

झाँक्रीले आफूले जेनजी उमेर समूहमा नेपालको गणतान्त्रिक आन्दोलनका क्रममा गरेको संघर्षको समेत स्मरण गरिन् ।
उनले आफूहरुले त्यस बेलामा सडक संघर्ष गरेको स्मरण गर्दै त्यतिबेला आफूहरुले गरेको हरेक कुरा जिम्मा लिने गरेको तर अहिले जेनजी आन्दोलनपछि कसैले पनि त्यसको जिम्मेवारी लिन नआएको बताइएन् । साथै जेनजी आन्दोलनपछि त्रासदी अवस्थामा नेकपा एमालेकै नेताहरु बाहिर निस्किएपछि आम जनता सडकमा निस्किन सकेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया