फेरि सीके राउतको बिखण्डनकारी ‘तुरुप’ : ‘मौका यही हो, मधेसलाई स्वायत्त राज्य घोषणा गरौँ’

लोकपथ
504
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके राउत) ले मधेस प्रदेशलाई स्वायत्त राज्य घोषणा गर्न माग गरेका छन् ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सरोज यादव नियुक्त भएपछि उत्पन्न विवादपछि राउतले सो अभिव्यक्ति दिएका हुन् ।

राउत खुला राजनीतिमा आउनुअघि मधेसलाई विखण्डन गर्नुपर्ने माग राख्दै आइरहेका आइरहेका थिए । मधेसलाई नै टुक्राउने अभिव्यक्ति दिएका कारण उनी पटकपटक जेलमा समेत परेका थिए ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मधेस प्रदेश सभाको बैठकबाट मधेस (प्रदेशको स्वाययत्ता) घोषणा गरौँ । आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौँ, डराएर सदियौँ नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौँ ।’

राउतले प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र अदालतलाई नेपाली औपनिवेशिक शासकहरुले खटाएको भन्दै ती निकायहरुले जे पनि गर्न मिल्ने भन्दै कटाक्ष गरेका छन् । मधेसका पार्टीहरुलाई छिन्नभिन्न बनाउने काम अन्य राजनीतिक दलहरुले गरेको भन्दै त्यसलाई अन्त्य गर्न समेत प्रदेशलाई स्वायत्त बनाउन आवश्यक रहेको दाबी गरेका छन् ।

‘संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेसका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथग्रहण गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोधसाध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेस प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौँ,’ उनले भनेका छन् ।

डा. राउतले अहिलेको संघीय सरकार संविधान अनुसार नबनेको बताउँदै आन्दोलनकै जगमा केन्द्रीय सरकार बनेको र प्रदेश सरकार पनि आन्दोलनकै भरमा बन्न सक्ने उनको तर्क रहेको छ । मधेसी जनताको भावना अनुसार मधेस प्रदेश सभाका २ तिहाइ सभासदको समर्थनमा मधेसलाई स्वायत्त राज्य घोषणा गर्न उनको माग रहेको छ ।

‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको माग बमोजिम बनेको छ । त्यसैले हामीले पनि मधेसी जनताको चाहना बमोजिम मधेस प्रदेश सभाको दुई तिहाईको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ,’ उनले भनेका छन्, ५४ प्रतिशत जनसंख्या भएको मधेस मुठ्ठीभर नेपाली शासकको जागिर होइन, उनीहरूले भीखजस्तो दिने, अनि हामीले लिइराख्ने। उनीहरूले चलखेल गरिराख्ने, हामीले टुलुटुलु हेरिराख्ने ?’

उनले मधेस आफूहरुको रहेको र त्यहाँ आफ्नै शासन हुनुपर्ने अडान राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?