मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको किचलो : बाटैमा शपथ खुवाउन प्रदेश प्रमुखलाई दबाब दिइएको थियो

लोकपथ
441
Shares

काठमाडौं । आइतबारको मितिमा मधेस प्रदेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सोमबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित होटेल पानसमा पद तथा गोपनीयताको शपथ लिए । लगत्तै उनले एमाले, संघीय समाजवादी र राप्रपाका एक/एक जना प्रदेशसभा सदस्यलाई बिनाविभागीय मन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ दिलाए । 

एमाले संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको भन्दै अधिकांश दल अदालतको ढोका ढकढक्याउने मनस्थितिमा पुगेका छन् । आज बिहान मुख्यमन्त्रीको निवासमा भएको एमाले बाहेकका दलहरूको बैठकले कानुनी उपचार खोज्ने निर्णयसमेत लिएको छ । साथै कानुनी उपचार र आन्दोलनलाई एकसाथ अघि बढाउन पनि ती दल सहमत भएका छन् । 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको अवस्था रहँदारहँदै धारा ३ मा गएर मुख्यमन्त्री नियुक्त गरेको र होटलमा शपथ गराएको भन्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको पनि चर्को आलोचना भइरहेको छ । त्यसो त प्रदेश प्रमुख सुमित्रा एमाले कोटाबाटै प्रदेश प्रमुख नियुक्त भएकाले यसअघि नै यो आशंका नगरिएको पनि होइन । 

त्यसैले दलका नेता तथा कार्यकर्ताहरूले हिजो अपराह्नदेखि नै प्रदेश प्रमुखविरुद्ध खबरदारी र नाराबाजी गर्दै संविधानको धारा २ बमोजिम नै सरकार गठनको आह्वान गर्न माग गरेका थिए । सात दलका नेताहरूले प्रदेश प्रमुखलाई भेटेर पनि ध्यानाकर्षण गराएका थिए । त्यसपछि प्रदेश प्रमुख भण्डारीले कानुनविद्हरूसँग छलफल गरिरहेकाले १/२ दिनको समय माग्दै संविधानको भावनाअनुसार नै आफू अघि बढ्ने आश्वस्त गराएकी थिइन् ।

आज कात्तिक २४ गते बिहान ४ बजेतिर बिरामी भएको भन्दै काठमाडौं जाने बताएपछि कामचलाउ मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख सुमित्रालाई फूल दिएर स्वास्थ्यलाभको कामना गर्दै बिदाइसमेत गरेका थिए । तर महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित होटेल पानसमा पुगेर प्रदेश प्रमुख भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई शपथग्रहण गराएकी थिइन् । 

यो विषयमा नवनियुक्त मुख्यमन्त्री सरोज भन्छन्, ‘हिजो मलाई नियुक्ति दिइसकेपछि शपथ ग्रहणका लागि बोलाउँदा लोसपाका सांसदहरू प्रदेश प्रमुखको कार्यालयको गेटमै धर्ना बस्नुभएको थियो । शपथ खाने बेलामा पनि म किन झगडा गर्न जान्छु ? मलाई एउटा उपयुक्त वातावरण बनाइदिनुपर्‍यो भन्दा ल हुन्छ हुन्छ भन्दा भन्दै प्रदेश प्रमुखज्यू बिरामी पर्नुभो । उपचारका लागि निस्किएँ भनेर फोन गर्नुभयो । तपाईंले नियुक्ति दिइसकेपछि शपथ पनि त खुवाउनुपर्छ, उभ्भिएरै भए पनि शपथ खुवाएर जानुस्, एक मिनेट भए पनि शपथ खुवाएर जानुस् भनेर अनुरोध गरेका थियौँ । उहाँले ल ठिक छ तपाईं बर्दिबास आउनुस्, बर्दिबास भन्नुभयो । त्यसैले बर्दिबासमा शपथ खाएका हौँ । उहाँ बिरामी नै हुनुहुन्थ्यो ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?