बिना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन ‘जेनजी मुभमेन्ट अलायन्स’को चेतावनी

लोकपथ
140
Shares

काठमाडौं ।  ‘जेनजी मुभमेन्ट अलायन्स’ले बिना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन चेतावनी दिएको छ । अलायन्सले आइतबार जारी गरेको विज्ञप्तिमा बसोबास उठाएर द्वन्द्व सिर्जना गर्नुभन्दा समस्या समाधानको मार्ग अपनाउनुपर्ने सुझाव दिएको छ ।

वक्तव्यमा भनिएको छ,‘ काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन र उपयुक्त विकल्प नदिईकन सम्बन्धित क्षेत्रबाट बस्ती हटाउने तयारी गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ऐतिहासिक रूपमा भूमिहीन र विस्थापित बनाइएका नेपाली जनताको अवस्था, सामाजिक असंवेदनशीलता र विभेदलाई बेवास्ता गर्दै यस्ता निर्णय हुनु खेदजनक छ ।’

जेनजी मुभमेन्ट अलायन्सले भूमिहीन सुकुम्वासी बस्तीको समस्या राज्यले समाधान गर्नुपर्ने र भूमि अधिकारलाई जनताको नैसर्गिक अधिकारको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएको छ । अलायन्सले यस क्षेत्रमा सहमति र उपयुक्त व्यवस्थापनको जरुरीतामा पनि ध्यानाकर्षण गराएको छ ।

अलायन्सले चेतावनी दिँदै भन्यो, ‘स्थानीय सरकारले निहत्था र उत्पीडित जनतामाथि दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाउनुपर्छ । सार्वजनिक सम्पत्ति पहिले जनताको हो र त्यसपछि राज्यको व्यवस्थापनमा आउँछ भन्ने हेक्का राख्न काठमाडौं महानगरपालिकासहित सबै सरकारी निकायहरूलाई अनुरोध गर्दछौँ ।’

अलायन्सले काठमाडौं महानगरपालिकालाई महानगर क्षेत्रभित्रका बस्तीहरूको यथार्थ विवरण सार्वजनिक गरी तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ । अघिल्लो साता, धोविखोला–बागमती किनारका बस्ती हटाउने चेतावनीपूर्ण नोटिस जारी भएपछि सुकुम्वासी बस्तीमा हलचल मच्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?