के हो प्रोस्टेट ? लक्षण, जोखिम र निराकरणको उपायहरू 

काठमाडौं । उमेर बढेसँगै पुरुषमा देखिने एउटा सामान्य तर बेवास्ता गर्न नहुने समस्या हो ‘प्रोस्टेट’ ग्रन्थी बढ्ने समस्या ।

प्रोस्टेट भनेको पुरुष प्रजनन प्रणालीको महत्त्वपूर्ण अंग हो ।  जुन मूत्र थैलीको ठिक तल हुन्छ र वीर्यलाई स्वस्थ राख्ने काम गर्छ । केटा मान्छे वयस्क भएपछि मात्र यो ग्रन्थि सक्रिय हुन्छ । वरिष्ठ मूत्र रोग विशेषज्ञ डा.दीपक रौनियारले ४० वर्ष कटेपछि धेरै पुरुषमा प्रोस्टेट ग्रन्थी बिस्तारै बढ्न थाल्ने बताउँछन् । 

उनका अनुसार यो प्राकृतिक प्रक्रिया भए पनि समयमै जाँच र उपचार नगरे गम्भीर स्वास्थ्य समस्या हुन सक्छ । ‘४० वर्षपछि अधिकांश पुरुषमा प्रोस्टेट बिस्तारै बढ्न थाल्छ । प्रारम्भिक चरणमा सामान्य लक्षण देखिए पनि बेवास्ता गर्दा यो समस्या प्रोस्टेट क्यान्सरमा रूपान्तरण हुने जोखिम रहन्छ,’ सचेत पार्दै उनी भन्छन् । 

डा. दीपक रौनियार

डा.रौनियारका अनुसार बारम्बार पिसाब लाग्ने, पिसाब गर्न कठिनाइ हुने, धार कमजोर हुने वा राति पटक पटक पिसाब गर्न उठ्नुपर्ने अवस्था देखिएमा तुरुन्त चिकित्सकसँग जाँच गराउनुपर्छ ।

यी हुन् प्रोस्टेटका लक्षणहरू 

– पटक पटक पिसाब लाग्ने

– पिसाबको धारा मसिनो हुने

– पिसाब फेर्दा बल गर्नुपर्ने

– कहिलेकाहीँ पिसाब गर्दा अण्डकोष दुख्ने

– पिसाबमा रगत देखापर्ने

– पिसाब पोल्ने 

– पिसाब चुइने वा थोपा–थोपा जाने

– कम्मर वा नाभी मुनि दुख्ने

– यौन सम्बन्ध राख्दा पोल्ने वा वीर्य स्खलनमा समस्या हुने

डा. रौनियारका अनुसार  यीमध्ये कुनै पनि लक्षण लगातार देखिएमा ढिला नगरी मूत्र रोग विशेषज्ञ (युरोलोजिस्ट) सँग जाँच गराउनुपर्छ । प्रारम्भिक अवस्थामै समस्या पत्ता लागे उपचार सजिलो र प्रभावकारी हुन्छ ।

किन बढ्छ प्रोस्टेट ? 

उमेर बढ्दै जाँदा प्रोस्टेट पनि सबै पुरुषमा बढ्दै जान्छ । विभिन्न हर्मोनहरुको कारणले प्रोस्टेट बढ्ने गर्दछ । कुनै पुरुषमा भने प्रोस्टेट बढेर पनि केही समस्या देखिँदैन । धेरै यौन सम्पर्क गर्नाले अथवा पुरुष बन्ध्याकरण गर्नाले प्रोस्टेट ग्रन्थी बढ्छ भन्ने जनमानसिकता छ, जुन गलत हो । 

अप्रेसन नगरी प्रोस्टेटको उपचार सम्भव छ ? 

डा.रौनियारका अनुसार समयमै जाँच र उचित उपचार गरेमा धेरैजसो अवस्थामा औषधि र जीवनशैली परिवर्तनमार्फत समस्या नियन्त्रणमा ल्याउन सकिन्छ । 

‘प्रारम्भिक चरणमा पत्ता लागेमा औषधि, नियमित व्यायाम र खानपानको सुधारले ग्रन्थि बढ्ने गति रोकिन्छ, ‘उनले भने ।

उनका अनुसार अत्यधिक समस्या बढेपछि मात्र अप्रेसन आवश्यक पर्छ । ढिलो गरी जाँच नगरे समस्या जटिल भई प्रोस्टेट क्यान्सरमा रूपान्तरण हुने जोखिम पनि रहन्छ ।

डा.रौनियारले ४० वर्षभन्दा माथिका सबै पुरुषलाई वार्षिक रूपमा प्रोस्टेट परीक्षण गर्न सुझाव दिएका छन् ।

के प्रोस्टेट हुँदैमा क्यान्सर हुन्छ ?

प्रोस्टेट ग्रन्थी बढ्नु भनेको सधैँ क्यान्सर हुने हो भन्ने होइन । प्रोस्टेट क्यान्सर सामान्यतया ५० वर्षमाथिका पुरुषमा देखा पर्छ । 

डा.रौनियारले भने, ‘प्रोस्टेट ग्रन्थी बढ्नु सामान्य हो ।  तर समयमै जाँच नगरे क्यान्सर जस्ता गम्भीर समस्यामा परिणत हुन सक्छ ।’

प्रोस्टेटको उपचार कसरी गर्ने सकिन्छ ?

डा. रौनियारका अनुसार, उपचारको पहिलो चरणमा रगत र पिसाबको परीक्षण गरिन्छ । आवश्यक भएमा भिडियो एक्सरे वा अल्ट्रासाउन्डमार्फत ग्रन्थिको आकार र अवस्था जाँच गरिन्छ । यसपछि पिसाब परीक्षण, वीर्य परीक्षण र अन्य रोगको कारण जाँच गरेर उपचारको योजना बनाइन्छ ।

उनले भने, ‘सुरुमा औषधि उपचारले समस्या समाधान नभएमा न्यूनतम आक्रमण (मिनिमल इनभेसिभ) विधिबाट उपचार गर्न सकिन्छ । समयमै उपचार सुरु गर्दा जटिल समस्या र क्यान्सरको जोखिम कम गर्न सकिन्छ ।’

उनले  पुरुषहरूलाई नियमित स्वास्थ्य जाँच गराउन र प्रोस्टेट सम्बन्धी कुनै पनि असहज लक्षण देखिएमा ढिला नगरी चिकित्सकको सल्लाह लिन सुझाव दिएका छन् ।

(वरिष्ठ मूत्र रोग विशेषज्ञ डा.दीपक रौनियारसँग गरिएको कुराकानीमा आधारित ) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?