काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरूको विकास र सञ्चालनमा रोकिरहेका कानूनी अवरोध हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले वर्षौं अड्किएका उद्योगसम्बन्धी फाइलहरू छिटो अघि बढाउन सम्बन्धित कर्मचारीहरूलाई निर्देशन दिएको जानकारी दिए । उनले मन्त्रालयहरूबीच सहजीकरण गर्दै उद्योगहरूको काम सहज र छिटो गतिमा अघि बढाउने तयारी भइरहेको बताए ।
उनका अनुसार, सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन नियन्त्रणकारी होइन, सहजीकरणको भूमिका खेल्नुपर्ने आवश्यकता छ । उनले भने, ‘अब प्राथमिकताका आधारमा कानूनी अवरोध हटाउँदै अर्थतन्त्रलाई गतिशील बनाउनुपर्छ । अड्किएका काम तत्काल फस्र्यौट नगरे विकासको गति रोकिन्छ ।’
मन्त्री सिन्हाले मुलुकको अर्थतन्त्रलाई सुदृढ र सक्रिय बनाउन सरकारले आवश्यक सबै कदम चाल्ने पनि उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया