युवा केन्द्रित आर्थिक रणनीति अपनाउनुपर्छ : मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले विकासलाई मूल मन्त्र ठानेर अघि बढे मात्र सफलता मिल्ने बताएका हुन् ।

मुख्यसचिव अर्यालले रोजगारी र अवसर सिर्जनामा अब छलाङ मार्नुपर्ने आवश्यकता औँल्याए । उनले आन्तरिक रोजगारी बढाउँदै विदेश जानुपर्ने बाध्यता क्रमशः घटाउँदै लैजानु पर्नेमा जोड दिए ।

उनका अनुसार युवाको आकांक्षा र राज्यको क्षमताबिच ठुलो अन्तर रहेको छ र यो विषय आम नागरिकलाई स्पष्ट रूपमा बुझाउन आवश्यक छ । ‘जेनजी आन्दोलनले युवाको आकांक्षा र राज्यको क्षमताबिचको अन्तर देखाएको हो,’उनले भने, ‘हाम्रो क्षमता के हो, त्यो इमानदार रूपमा बताउनुपर्छ । सिंगापुर बनाउने सपना देखिन्छ, तर सिंगापुर कसरी बन्यो भन्ने कुरा बुझ्नुपर्छ ।’

अर्यालले शासन र सेवाप्रतिको अपेक्षा समयसँगै परिवर्तन भएको बताउँदै विगतमा गर्न नसकिएका काम अब गर्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गर्दा मात्र देश सफलताका दिशामा अघि बढ्न सक्छ ।

उनले थपे, ‘शान्ति सुरक्षा बिस्तारै लयमा आइरहेको छ । अब नीति निर्माण नै रोजगारी र अवसर सिर्जनामा केन्द्रित हुनुपर्छ । परिवर्तन प्रत्येक दिन गर्नुपर्छ, युवाले दिएको सन्देशलाई मनन गर्नुपर्छ ।’

मुख्यसचिव अर्यालले नेपालको विकासको मोडल फरक हुनुपर्नेमा पनि जोड दिए । तीन तहका सरकारबीच समन्वयको अभाव र निजी क्षेत्रले कुन तहसँग समन्वय गर्ने भन्ने अस्पष्टताका कारण विभिन्न समस्या उत्पन्न भइरहेको उनले बताए । ‘भिन्न–भिन्न ढंगले गरिने विकासले देशलाई समृद्ध बनाउन सक्दैन,‘उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?