काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गर्दै शनिबार कार्यालय परिसरमा धर्ना दिएको छ ।
समितिले भ्याकेन्सी आह्वान र अन्तर्वार्ता प्रक्रियालाई विवादास्पद ठहराउँदै विरोध जनाएको हो ।
समितिका संयोजक देवदुत अधिकारीले भने, ‘निर्देशक पदमा बहालवाला निर्देशक रहँदै नयाँ भ्याकेन्सी आह्वान गर्नु अनैतिक र असंवैधानिक हो। प्रमुख आयुक्तको विषय अदालतमा विचाराधीन रहेको अवस्थामा नयाँ नियुक्ति गर्नु स्वीकार्य छैन ।’
उनीहरूले प्रमुख आयुक्तको नियुक्ति प्रक्रिया पनि विवादास्पद भएको आरोप लगाएका छन् । निर्वाचित प्रमुख आयुक्त महेन्द्रराज रञ्जितलाई तत्कालीन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निलम्बन गरी देवराज घिमिरेलाई नियुक्त गरेको र हाल मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको जानकारी दिएका छन् ।
अधिकारीहरूले नेपाल स्काउटभित्र रहेका विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि १३ दिन रिले अनसन तथा ८ दिन आमरण अनसन बसेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र त्यसको आधारमा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।
रञ्जितले निर्देशक पदका लागि विज्ञापन, सर्टलिस्ट र अन्तर्वार्ता प्रक्रियामा पनि अनियमितता भएको आरोप लगाउँदै भने, ‘भ्याकेन्सी निकाल्दा जोइन् सेक्रेटरी सरहको पदमा न्यूनतम शैक्षिक योग्यता स्नातक राखेर आफ्नो व्यक्तिलाई नियुक्त गर्न खोजिएको छ, जुन मान्यता हुँदैन ।’
धर्ना कार्यक्रममा प्रहरीसँग धकलाधकेल पनि भएको थियो। समितिले निर्देशकको लिखित परीक्षा र अन्तर्वार्ता तत्काल रोक्नुपर्ने भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएका छन् । यस विरोधले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया तत्काल रोक्न दबाब सिर्जना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया