राष्ट्रिय सभामा पाँच वटा विधेयक विचाराधिन, तीन वटाको दफावार छलफल गर्ने तयारी

लोकपथ
371
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि संघीय संसदमा रहेका ३० वटा विधेयकमध्ये ५ वटा विधेयक हाल पनि राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीका अनुसार ती सबै विधेयक राष्ट्रिय सभामै उत्पत्ति भएका हुन् । तीमध्ये राष्ट्रिय विधिविज्ञान प्रयोगशालासँग सम्बन्धित विधेयक, अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विधेयक, पर्यटन विधेयक, चलचित्र विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक विचाराधीन अवस्थामा छन् ।

सचिव गिरीका अनुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशालासँग सम्बन्धित विधेयक समितिले छलफल गरी प्रतिवेदनसहित राष्ट्रिय सभामा पठाइसकेको छ र अहिले सभामा विचाराधीन अवस्थामा छ । त्यसैगरी पर्यटन, चलचित्र र सामाजिक सञ्जालसम्बन्धी विधेयक समितिमा विचाराधीन छन् र दफावार छलफल सुरु गर्ने तयारी समितिले गरेको छ ।

त्यसैबिच अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विधेयक राष्ट्रिय सभामा प्रस्तुत भई सैद्धान्तिक छलफल सकिए पनि अझै समितिमा पठाउन बाँकी रहेको सचिव गिरीले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधि सभा विघटन हुँदा संघीय संसदमा विचाराधीन रहेका ३० वटा विधेयक निष्क्रिय भएका थिए । तीमध्ये ७ वटा राष्ट्रिय सभाबाट उत्पत्ति भएका र बाँकी २३ वटा प्रतिनिधि सभाबाट उत्पत्ति भएका थिए ।

यसैबिच नयाँ सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कोष स्थापना गर्न सम्बन्धित नयाँ विधेयक संघीय संसदमा पठाएको छ । सो विधेयकलाई प्रतिनिधि सभा वा राष्ट्रिय सभातर्फ अगाडि बढाउने तयारी भइरहेको सचिव गिरीले बताए ।

त्यस्तै सरकारले हालै जारी गरेको मतदाता नामावली सम्बन्धी अध्यादेश पनि राष्ट्रिय सभामा प्रस्तुत गर्ने तयारी भएको उनले जानकारी दिए ।

प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको बैठक स्थगित भए पनि अन्तर्गतका समितिहरूको बैठक भने नियमित रूपमा बसिरहेको छ । संसद् भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी भएकाले बैठक स्थलको अभाव रहेको र त्यसलाई सिंहदरबारस्थित कृषि समितिको हलमा सार्ने तयारी भइरहेको पनि बताइएको छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आगामी बैठकहरूलाई प्रभावकारी बनाउन समितिका सभापतिहरूसँग छलफलसमेत गरेका छन् । समितिहरूले सभामा रहेका विधेयकहरूमा छलफल अगाडि बढाउने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?