काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा निर्माणाधीन चमेना गृह भवनमा अवरोध गर्ने विद्यार्थी नेताहरूलाई निर्माण व्यवसायीहरूले कडा चेतावनी दिएका छन् ।
व्यवसायीहरूका अनुसार केही विद्यार्थी नेताहरूले काम सुरु भएपछि विभिन्न बहानामा निर्माण कार्यमा अवरोध पुर्याउने र पैसा असुल्ने जस्ता गतिविधि गर्दै आएका छन् । उनीहरूले आगामी दिनमा यस्ता गतिविधि दोहोरिए मौन नबस्ने चेतावनी दिएका हुन् ।
निर्माण व्यवसायी समन महर्जनले त्रिवि बोर्डमा ठेक्का स्वीकृतिको निर्णयमा विद्यार्थी संगठनका प्रतिनिधिहरू पनि सहभागी हुने गरेको तर काम सुरु भएपछि ती नै नेताहरूले निर्माण रोक्ने, धम्की दिने र आर्थिक लाभ खोज्ने गरेको आरोप लगाए ।
‘यदि त्यो क्षेत्र वन वा हरियो क्षेत्र जोगाउनुपर्ने थियो भने ठेक्का अघि नै जानकारी दिनुपर्ने हो, ‘महर्जनले भने, ‘तर ठेक्का पाएर काम सुरु गरेपछि पैसा माग्नु गैर जिम्मेवार व्यवहार हो ।’
उनले केही त्रिवि कर्मचारीले पनि विद्यार्थीहरूलाई उचालेर व्यवसायीमाथि दबाब दिने र पैसा असुल्ने काम गराउने गरेको आरोप समेत लगाए। महर्जनका अनुसार विद्यार्थीको नाममा केही व्यक्तिहरूले धम्की दिने, थर्काउने र काम अवरुद्ध गर्ने गतिविधि गर्दै आएका छन्।
गत मंगलवार विद्यार्थीको विरोधका कारण उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार कार्यालयबिच निर्माणाधीन चमेना गृह परियोजना अस्थायी रूपमा रोकिएको थियो। साउन महिनाबाट सुरु भएको उक्त परियोजनामा विद्यार्थीहरूले रुख काटिएको र नयाँ क्यान्टिन (क्याफ्टेरिया) निर्माण भइरहेको भन्दै विरोध जनाउँदै आएका थिए ।
व्यवसायीहरूले यस्तो अवरोधले परियोजना ढिलो हुने र आर्थिक क्षति हुने भन्दै त्रिवि प्रशासनलाई तत्काल समाधान खोज्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया