पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन 

लोकपथ
2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको आज शनिबार बिहान निधन भएको छ । ६३ वर्षीय आलमको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा निधन भएको हो । 

उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि दसैंअघिदेखि नै भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । पछिल्लो एक सातादेखि स्वास्थ्य थप खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । 

आलमलाई डेढ महिनाअघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । केही समयपछि स्वास्थ्य अवस्था झनै खराब बनेको थियो ।

गएको जेठ १४ गते नख्खु कारागारबाट छुटेको केही दिनमै उनलाई मस्तिष्कघात भएको थियो । त्यसपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । एक साता बढी आईसीयूमा राखेर उपचारपछि डिस्चार्ज भएका आलमलाई दसैँअघि थप उपचारका लागि भारत लगिएको थियो । पुरानै समस्या बल्झिएपछि आलमलाई सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।

आलम २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटको घटनाबाट थप चर्चामा आएका थिए । उनीमाथि विस्फोटमा परेका घाइतेलाई जिउँदै जलाएर मारेको अभियोग लागेको थियो । 

यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको सजाय पाएका पूर्वमन्त्री आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहटको फैसला उल्ट्याउँदै गएको जेठ १४ गते सफाइ दिएको थियो । त्यसलगत्तै उनी नख्खु र भाइ महताब गौर कारागारबाट छुटेका थिए । 

आलमका दाजुभाइसहित शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका छन् । झन्डै ६ वर्ष जेल बसेका आलमलाई नख्खुबाट बाहिरिएको केही दिनमै मस्तिष्कघात भएको थियो । जिल्ला अदालत रौतहटका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले उनीहरूलाई २०८१ वैशाख १४ गते जन्मकैदको फैसला सुनाएको थियो ।

जन्मकैदको फैसला पछि आलम परिवार जिल्लाको आदेशविरुद्ध उच्च अदालत जनकपुरको वीरगन्ज इजलास पुगेका थिए ।

तत्कालीन कांग्रेस नेता शेख ईद्रिसको राजनीति उर्वर भूमिको रूपमा चित्रण गरिएको रौतहट क्षेत्र नम्बर २ मा आलमले लगातार चुनाव जित्दै आएका थिए । 

आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख छन् । 

आलम २०५४ सालमा श्रम राज्यमन्त्री, २०५५ सालमा वन राज्यमन्त्री, २०५६ सालमा स्थानीय विकास राज्यमन्त्री, त्यसपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित श्रम तथा यातायात मन्त्री बनेका थिए । 

उनले २०६७ सालमा कांग्रेसको केन्द्रीय सदस्यमा जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?