काठमाडौं । गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा लुटिएको हतियार ‘ग्यास गन’ सहित प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कैलाली जानकी गाउँपालिका–१ दुर्गौली घर भई हाल काठमाडौं महानगरपालिका–३२ सहयोगीनगर बस्ने २९ वर्षीय मनोज ढुङ्गाना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, ‘गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोलीगट्ठाहरूमध्ये निज ढुङ्गानाले आफ्नो कोठामा लुकाइ राखेको भन्ने विशेष सूचनाको आधारमा निजलाई पक्राउ गरिएको हो ।’
निजको साथबाट प्रहरीले ११००६०८१ नम्बर भएको कोरियामा बनेको एन्टी रायट गन ३८ मिमी लेखिएको मल्टी ‘ग्यास गन’ एक थान, भीड नियन्त्रणमा प्रयोग हुने ‘लेग गार्ड’ एक थान तथा सामसुङ कम्पनीको मोबाइल एक थान बरामद गरिएको प्रवक्ता आचार्यले बताए ।
आज निजलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया