काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’, घनश्याम भुसाल र जनार्दन शर्मा मिलेर अघि बढ्ने सहमति गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, हामलै माओवादीसहित वाम मोर्चासँग मिल्न गएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल तथा माओवादी वाममोर्चामा मिल्न गएपछि प्रगतिशील राष्ट्रिय अभियान बनाएका जनार्दन शर्माबिच एकता हुने भएको हो ।
हालै माओवादी, एकीकृत समाजवादी लगायत १० वाम घटक शक्तिहरु एकता भए पनि घनश्याम र जनार्दन भने एकतामा सहभागि हुन गएनन् । तीन नेताहरुबिच आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने सहमती भएको विज्ञप्ति जारी गर्दै जानकारी दिइएको छ ।
‘आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार भएको छ । राष्ट्रमाथि चौतर्फी संकट आएको यस परिस्थितिमा सबै प्रतिबद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुले बृहत् मोर्चाबन्दीको लागि पहलकदमी लिन आवश्यक भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यस्तो एतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकतावद्ध भएर अगाडि बढ्न संकल्पवद्ध भएका छौँ । र, सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौँ ।’
जेनजी आन्दोलनपछि पनि राजनीतिक दलका पुराना नेताहरु आफ्नो बर्चस्व जोगाउन लागिपरेको भन्दै तीन नेताहरु मिलेर अघि बढ्ने संकल्प गरेका हुन् । राजनीतिक दलका पुरानै नेताहरुले पार्टीमा हालीमुहाली गरेर मुलुकलाई थप अन्योल, अस्थिर र संकटतर्फ धकेल्न उद्धत्त रहेको समेत तीन नेताहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
‘मुलुकका पुराना राजनीतिक दलहरु, खासगरी तिनका नेताहरु पुरानै संरचना र तरिका जोडजाड गरेर संकटलाई ढाकछोप गर्न र आफ्नो वर्चस्व बचाउन चाहान्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्ने कुरा निश्चित छ । पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
कार्तिक १९ गते १० वाम शक्तिबिच ध्रुविकरण गरेर अघि बढ्ने घोषणा गरेसँगै माओवादी र एकीकृत समाजवादीका जनार्दन शर्मा, घनश्याम भुसाल लगायतका केही नेताहरु असन्तुष्ट बन्दै एकता प्रक्रियामा सहभागि भएनन् । यता विप्लव नेतृत्वका केही नेताहरु समेत सोही प्रकृयामा भाग लिन जाँदा नेताहरु एकठाउँमा आइपुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया