नयाँ नेपालको आर्थिक दृष्टि : रोजगारी, पर्यटन र युवाको भविष्य

यसरी सम्भव छ ३० लाखलाई नयाँ रोजगारी र आर्थिक वृद्धिमा छलाङ

लोकपथ
196
Shares

वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई क्षेत्रका लागि परिचित नाम । बुद्ध एयरलाई यो सफलतामा पुर्‍याउन प्रमुख भूमिका खेलेका बस्नेत हालैका दिनमा राजनीतिमा समेत होमिएका छन् । आफू सदस्य मात्रै रही गतिशील लोकतान्त्रिक पार्टी स्थापना गरेका बस्नेतले राजनीति सफा हुन पहिले राजनीतिकर्मी पनि उद्यममा आबद्ध रहेको हुनुपर्ने र कुनै लोभ नभएको व्यक्ति हुनुपर्ने पार्टीकै नीति छ । नेपालजस्तो देशमा बारम्बार आन्दोलन भइरहनुको कारण बेरोजगारी र विकासको न्युन गति रहेको पार्टीकै निष्कर्ष छ । यसै सन्दर्भमा पार्टीले नेपालको आर्थिक विकासका लागि कसरी अगाडि बढ्ने र प्राथमिकता के के हुनसक्छ भनेर आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टीले देश विकासका लागि प्रमुख तीन खम्बाका रुपमा पर्यटन, कृषि र शिक्षालाई लिएको छ । यसै सन्दर्भमा पार्टीले बिहीबार भैरहवामा पर्यटन उद्योगबाट कसरी देशको विकास गर्न सकिन्छ भनेर आफ्नो अवधारणा प्रस्तुत गरेको छ । गतिशील लोकतान्त्रिक पार्टीको पर्यटनसम्बन्धी यही दृष्टिकोणलाई विचार र धारणाका रूपमा प्रस्तुत गरिँदैछ ।

हामी किन गतिशील हुन चाह्यौँ ?

हामीहरू आज एउटा ऐतिहासिक मोडमा उभिएका छौँ । हाम्रा युवा बहिनी–भाइहरू अर्धबेरोजगारी र बेरोजगारीमै आफ्नो भविष्य खोजिरहेका छन्, अन्यतिर मध्यपूर्व र मलेसियामा नेपाली युवा कठिन अवस्थामा थोरै पैसामा गुजारा चलाइरहेका छन् । यो अवस्थाको अन्त्य गर्न सकिन्छ र हामी यही गर्न चाहन्छौँ । हामीले विगतमा धेरै आन्दोलन गरिसकेका छौँ, अब सिर्जनाको बेला आइसकेको छ ।

नयाँ राजनीतिक दर्शन : विरोधभन्दा सिर्जना

हाम्रो दृष्टि स्पष्ट छ : विरोध र आन्दोलनको राजनीतिभन्दा सिर्जनशीलताको राजनीति । हामीले युवाहरूलाई आशाको किरण देखाउनुपर्छ । तीनवटा मुख्य आधारस्तम्भहरूमा हामीले काम गर्ने छौँ– पर्यटन, कृषि र गुणस्तरीय शिक्षा । यी तीनवटा क्षेत्रहरूले नै हाम्रा युवाहरूका लागि देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सक्छ ।

हामी मान्छौँ कि नेपालमा समस्या भन्दा सम्भावनाहरू बढी छन् । हामीसँग प्राकृतिक सम्पदा छ, सांस्कृतिक विरासत छ र सबैभन्दा महत्वपूर्ण हामीसँग मेहनती युवाशक्ति छ । आवश्यकता छ केवल सही दिशानिर्देश र दृढ इच्छाशक्तिको ।

पर्यटन : अर्थतन्त्रको मुख्य इन्जिन

हामीले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको आर्थिक क्रान्तिको केन्द्र बनाउने योजना बनाएका छौँ । यहाँबाट हामी सिधै अमेरिका, क्यानाडा, युरोपका लागि उडानहरू सञ्चालन गर्न सक्छौँ । एयरबस कम्पनीले नै यो सम्भव छ भनेर प्रमाणित गरिसकेको छ । कतार एयरलाइन्सले यहाँ २०–२२ वटा वाइडबडी विमानहरुको सफल उडान गरेर भैरहवाबाटै अन्तरदेशीय र लामो दूरीको उडान सम्भव छ भन्ने प्रमाणित गरिसकेको छ । त्यसकारण अब भैरहवाबाटै लामो दूरीको अन्तर्राष्ट्रिय उडानहरु गर्न सम्भव छ र त्यसका लागि हामी काम गर्नेछौँ ।

हाम्रो लक्ष्य स्पष्ट छ, अर्को १० वर्षमा ५० लाख पर्यटक । यसले गर्दा ३० लाखभन्दा बढी नेपाली युवाहरूले रोजगारी पाउनेछन् ।

हाम्रो अर्थतन्त्रमा १२ खर्बभन्दा बढीको योगदान हुनेछ । यो आजको हाम्रो जीडीपीको पाँच गुणा बढी हो । हामी इन्डोनेसियाको बालीद्वीपबाट सिक्न सक्छौँ । उनीहरू साढे पाँच हजार वर्ग किलोमिटरको क्षेत्रफलमा वर्षेनी ७० लाख पर्यटकलाई स्वागत गरिरहेका छन् । नेपालको क्षेत्रफल एक लाख ८१ हजार वर्ग किलोमिटर छ र हामीसँग हिमालदेखि तराइसम्म विविध जलवायु छ । ५० लाख पर्यटक त हाम्रो न्यूनतम लक्ष्य हो, हामीले एक करोडको लक्ष्यतर्फ पनि अगाडि बढ्नुपर्छ ।

नेपाल एयरलाइन्स : नयाँ जीवनको साहस

यदि हामी नीतिगत निर्णय गर्ने तहमा पुग्यौँ भने हामी नेपाल एयरलाइन्सलाई पूर्ण रूपमा परिवर्तन गर्नेछौँ । यसमा ३० प्रतिशत स्वामित्व सरकारको र ७० प्रतिशत स्वामित्व आम नेपाली जनताको हुने गरी हामी यसलाई पब्लिक लिमिटेड कम्पनी बनाउनेछौँ । यदि हामीले अवसर पायौँ भने ६ महिनाभित्रै यो काम गर्न सक्छौँ । साथै, हामी नेपाललाई विमान सुरक्षासम्बन्धी कालोसूचीबाट तीन महिनाभित्रै मुक्त गराउन सक्छौँ, त्यसका लागि हामीसँग स्पष्ट कार्ययोजना छ ।

नेपालको विकासको प्रमुख खम्बा भनेको पर्यटन नै हो र पर्यटन क्षेत्रको विकास नभएसम्म अन्य विकास सम्भव छैन ।

त्यसकारण हामी प्रत्येक वर्ष ५ लाखका दरले थप पर्यटक नेपाल ल्याउने र आगामी १० वर्षमा ५० लाख पर्यटकलाई नेपाल भित्राउने योजनामा छौँ र त्यसका लागि हामीले स्पष्ट खाका पनि कोरेका छौँ ।

यदि हामी नीतिगत निर्णय गर्ने तहमा पुग्यौँ भने तत्कालै ३५०–१००० मोडेलका ५ वटा एयरबस जहाजहरू ल्याउनेछौँ, जुन राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सकै स्वामित्वमा रहनेछ । यसको लागि हामी लिज फाइनान्सिङको व्यवस्था गर्नेछौँ । संसारका धेरै एयरलाइन्सहरूले यही तरिका अवलम्बन गरेका छन् । एउटा जहाजको लागि २५ अर्ब रुपैयाँको लगानी चाहिन्छ, जसमा हामीले १० प्रतिशत डिपोजिट मात्र राख्नेछौँ र बाँकी ९० प्रतिशत १५ वर्षको किस्तामा तिर्नेछौँ ।

युवाहरूको लागि अवसर

यदि देशको पर्यटन उद्योगको विकास गर्ने र आगामी १० वर्षमा ५० लाख पर्यटकलाई नेपाल ल्याउन सक्ने हो भने हामीले हवाई उद्योग, पर्यटन उद्योग मात्रै होइन, समग्र रोजगारीमा व्यापक वृद्धि गर्न सक्ने सम्भावना छ र त्यसका लागि योजना पनि छ ।
यदि आगामी १० वर्षमा ५० वटा वाइडबडी जहाजहरु नेपाल ल्याउन सक्ने हो भने हामीले पर्यटनमै प्रत्यक्ष ३० लाखलाई रोजगारी दिन सक्छौँ भने त्यसबाहेक ५० वटा विमान थपिँदा पाइलट तथा कोपाइलट, क्रु मेम्बर, टेक्निसियन आदिको पनि रोजगारी थपिन्छ ।

आगामी १० वर्षमा ५० वटा वाइडबडी विमान थपिँदा,
१ हजार ५ सयभन्दा बढी पाइलट र को–पाइलट
६ हजारभन्दा बढी केबिन क्रू मेम्बर
१ हजारभन्दा बढी टेक्निसियन
दाङमा ट्रेनिङ सेन्टर स्थापना

हामीले दाङको विमानस्थललाई एउटा प्रशिक्षण केन्द्रको रूपमा विकास गर्नेछौँ, जहाँ हरेक वर्ष २ सय जना पाइलट, ६ सय जना केबिन क्रू र १ सय जना टेक्निसियनहरूलाई तालिम दिइनेछ । यसले गर्दा हामी न केवल आफ्नो आवश्यकता पूरा गर्न सक्छौँ, विदेशमा पनि कुशल जनशक्ति पठाउन सक्छौँ ।

कृषि र शिक्षा : दुई शक्तिशाली स्तम्भ

पर्यटनसँगै कृषि र शिक्षालाई हामी अर्को प्राथमिकतामा राख्दैछौँ । हामी आधुनिक कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने छौँ । शिक्षाको क्षेत्रमा हामी गुणस्तरीय शिक्षाको सुधार गर्दै नेपाललाई शैक्षिक हब बनाउने लक्ष्य राख्दैछौँ ।

हामी माध्यमिक शिक्षाको गुणस्तरमा विशेष ध्यान दिँदैछौँ, किनभने हालको अवस्थामा माध्यमिक तहपछि निक्लने विद्यार्थीहरू अर्धशिक्षित नै रहिरहेका छन् । हामी शिक्षालाई रोजगारीमा परिणत गर्न सक्ने रूपमा विकास गर्ने छौँ ।

सामुदायिक सशक्तीकरण

हामीले लुम्बिनी क्षेत्रमा कम्युनिटी टुरिजम विकास गर्दै स्थानीय बासिन्दाहरूलाई सिधै लाभान्वित गराउने योजना बनाएका छौँ । गौतम बुद्धको जन्मस्थल भएका कारण यो क्षेत्रमा पर्यटकहरूले कम्तीमा ५ दिन बस्ने अवसर पाउनेछन् । तिलौराकोट, बुद्धको मामाली घरलगायतका ऐतिहासिक स्थलहरूको एउटा सर्किट बनाउँदा स्थानीय स्तरमा धेरै रोजगारी सिर्जना हुनेछ ।
हामी भिलेज टुरिजम र कम्युनिटी इन्टरप्राइजको माध्यमबाट स्थानीय समुदायलाई सशक्त बनाउने छौँ । यसले गर्दा पर्यटनको लाभ सिधै गाउँगाउँमा पुग्नेछ ।

क्षेत्रीय विकासको दृष्टि

हाम्रो योजनामा भैरहवामात्र सीमित नरही सम्पूर्ण नेपालको विकास समेटिएको छ । हामी पोखरा विमानस्थलबाट आसियान देशहरूका लागि क्षेत्रीय उडानहरू सञ्चालन गर्ने छौँ । सुदूरपश्चिम र कर्णाली जस्ता दुर्गम क्षेत्रहरूका लागि प्रादेशिक एयरलाइन्स सञ्चालन गर्ने छौँ ।

हामी कोशी प्रदेशमा पनि पर्यटन विकासलाई प्रोत्साहन दिँदै यस क्षेत्रलाई पनि आर्थिक विकासको मुख्य धारामा ल्याउने छौँ ।

सूचना प्रविधि : चौथो आर्थिक स्तम्भ

हामी सूचना प्रविधिलाई चौथो आर्थिक स्तम्भको रूपमा विकास गर्ने छौँ । आईटी सेक्टरले नेपाली युवाहरूका लागि थुप्रै रोजगारीको अवसर सिर्जना गर्न सक्छ । हामी नोभेम्बर २३ मा यसको विस्तृत योजना सार्वजनिक गर्दैछौँ ।
हामी शिक्षा र सूचना प्रविधिलाई एकअर्कासँग जोड्दै डिजिटल लिटरेसीमा नेपाललाई अग्रणी बनाउने छौँ । यसले गर्दा ग्रामीण क्षेत्रका युवाहरू पनि आधुनिक तालिम र रोजगारीको अवसरमा जोडिनेछन् ।

विमानस्थल विकासको व्यापक योजना

हामीसँग विमानस्थल विकासको एउटा व्यापक योजना छ :

भैरहवा : अन्तर्राष्ट्रिय उडानको हब

काठमाडौं : क्षेत्रीय उडानको केन्द्र

पोखरा : आसियान देशहरूका लागि गेटवे

दाङ : प्रशिक्षण र तालिम केन्द्र

दुर्गम क्षेत्रहरू : प्रादेशिक उडान सेवा

यस योजनाअन्तर्गत हामी प्रत्येक विमानस्थललाई विशेष भूमिका दिँदै छौँ ।

रोजगारी सिर्जनाको विस्तृत योजना

पर्यटन उद्योगले सिर्जना गर्ने रोजगारी

प्रत्यक्ष रोजगारी : १० लाखभन्दा बढी
अप्रत्यक्ष रोजगारी : २० लाखभन्दा बढी
स्वरोजगार : ५ लाखभन्दा बढी

हामी होटेल, यातायात, रेस्टुरेन्ट, गाइड, हस्तकला, सांस्कृतिक कार्यक्रमलगायतका क्षेत्रहरूमा युवाहरूका लागि रोजगारीको अवसर सिर्जना गर्ने छौँ ।

भैरहवाबाट उडान भर्ने हाम्रो जहाजको जस्तै नेपालको अर्थतन्त्रको पनि उचाइ बढ्छ । यो सपना होइन, एउटा व्यावहारिक योजना हो । हामी यसलाई साकार पार्छौं । हामी सबै मिलेर काम गर्नुपर्छ । सरकार, निजी क्षेत्र र आम नागरिकहरू सबैले आफ्नो भूमिका निभाउनुपर्छ ।

लगानीको अवसर

यो योजनाअन्तर्गत २१ खर्ब रुपैयाँको लगानीको आवश्यकता पर्नेछ ः
जसमा,
जहाज खरिद : १२.५ खर्ब रुपैयाँ
होटेल निर्माण : ५ खर्ब रुपैयाँ
पूर्वाधार विकास : ३.५ खर्ब रुपैयाँ

यस लगानीले देशको आर्थिक विकासलाई गति दिनेछ र नेपालीहरूका लागि समृद्धिको मार्ग खोल्नेछ ।

कार्यान्वयनको रणनीति

हामीसँग योजनाको कार्यान्वयनका लागि स्पष्ट रणनीति छ :

पहिलो चरण : नेपाल एयरलाइन्सको पुनर्संरचना (३–६ महिनाभित्र)

दोस्रो चरण : कालोसूचीबाट मुक्ति (३ महिना)
तेस्रो चरण : जहाज खरिद र सञ्चालन (१ वर्ष)
चौथो चरण : क्षेत्रीय विमानस्थल विकास (२ वर्ष)
हामी यो कार्य योजनालाई चरणबद्ध तरिकाले कार्यान्वयन गर्दै लाग्ने छौँ ।

सहकार्यको संस्कृति

हामी सरकार, निजी क्षेत्र र स्थानीय समुदायबिच सहकार्यको नयाँ संस्कृति विकास गर्ने छौँ । योजनाको सफलताका लागि तीनै पक्षको सहभागिता आवश्यक छ । हामी प्रदेश सरकारहरूसँग सहकार्य गर्दै प्रादेशिक विकासलाई प्रोत्साहन दिँदैछौँ । प्रत्येक प्रदेशले आफ्नो क्षमता र विशेषताअनुसार आर्थिक विकासको योजना बनाउन सक्नेछन् ।

शिक्षामा सुधार

शिक्षा क्षेत्रमा हामी मौलिक सुधारको योजना ल्याउने छौँ :
यसमा, व्यावसायिक शिक्षालाई प्राथमिकता
अंग्रेजी र आधुनिक टेक्नोलोजीमा शिक्षा
पर्यटन, आतिथ्य सत्कार र व्यवस्थापनमा तालिम,
ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षाको पहुँच

यी कामहरु गर्दा नेपाली युवाहरू विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार हुनेछन् ।

साझा सपनाको साकार

हामी यी काम गर्न तयार छौँ । हामीसँग तर्कहरू छन्, योजनाहरू छन् र कार्यान्वयनको इच्छाशक्ति पनि छन् । हामीले विगतमा धेरै आन्दोलन गरिसकेका छौँ, अब सिर्जनाको बेला आइसकेको छ ।

हाम्रो सबै नेपालीहरूसँग एउटा निवेदन छ ः आउनुहोस्, यस ऐतिहासिक अवसरमा सहभागी हौँ । आफ्नै देशमा रोजगारी सिर्जना गरौँ । आफ्ना युवाहरूलाई विदेशिनु नपरोस् भन्ने सपना साकार गरौँ ।

भैरहवाबाट उडान भर्ने हाम्रो जहाजको जस्तै नेपालको अर्थतन्त्रको पनि उचाइ बढ्छ । यो सपना होइन, एउटा व्यावहारिक योजना हो । हामी यसलाई साकार पार्छौं । हामी सबै मिलेर काम गर्नुपर्छ । सरकार, निजी क्षेत्र र आम नागरिकहरू सबैले आफ्नो भूमिका निभाउनुपर्छ ।

यो हाम्रो राष्ट्रिय कर्तव्य हो, हाम्रो ऐतिहासिक दायित्व हो । हामी यो काम गरेर नै छाड्नेछौँ । आउनुहोस्, नयाँ नेपालको निर्माणमा सहभागी हौँ । हामी सबैको साझा प्रयासले नेपाललाई एउटा समृद्ध राष्ट्र बनाउन सक्छौँ । हामी सबैले आफ्नो भूमिका निभाऔँ र यो ऐतिहासिक अवसरलाई सदुपयोग गरौँ ।

यो पनि…

दलहरुको भीडमा वीरेन्द्रले खोले नयाँ दल, बुद्धकै जस्तो उडान भर्न सक्ला ?

बुद्ध एयरका मालिक वीरेन्द्र बहादुर बस्नेतले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?